About Contact
१४ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
प्रदेश २: ढल्केबर सबस्टेसनको निर्माण जारी, असारभित्र सञ्चालन गर्ने लक्ष्य

खोज केन्द्र शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मुलुकमा जारी लकडाउनको बेलामा पनि धनुषामा निर्माणाधीन ४००-२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम रोकिएको छैन । कोरोना महामारीपछि सरकारले घोषणा गरेको लकडाउनको बेला पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरूको पूर्ण रूपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण कार्य धमाधम भइरहेको हो ।

नेपालकै पहिलो ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य सकिएपनि ढल्केबरको काम बल्ल अन्तिम अवस्थामा पुगेको हो । पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि निर्माण गएिको ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस)प्रविधियुक्त स्वचालित ढल्केबर सबस्टेसन मुलुकभित्रको सबैभन्दा ठूलो र ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो ।

सबस्टेसनमा रहने उपकरण जडान एवं परीक्षण र बाँकी रहेका सिभिल संरचनाको निर्माणमा नेपाल, भारत र चीनका प्राविधिक तथा गैरप्राविाधिक गरी झण्डै ८० जना जनशक्ति खटिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । असारभित्रमा सबस्टेसनको निर्माणसम्पन्न गरी संचालन (चार्ज) गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “गत पुस-माघमा तराइमा चलेको शीतलहरका कारण उपकरण जडान प्रभावित भयो, त्यसपछि कोरोनाका कारण चिनियाँ इन्जिनियरहरू आउन नसक्दा र नेपालमा लागू गरिएको लकडाउनले निर्माण प्रभावित भयो, अहिले सबै सुरक्षात्मक उपाय अपनाएर काम धमाधम भइरहेको छ,” कार्यकारी निर्देशक घिसिङले भने, “चीनबाट विमानमार्फत भारतको कोलकाता ल्याइएका सबस्टेसनका उपकरणहरू दुवै मुलुकमा लागू गरिएको लकडाउनका कारण ल्याउन सकिएको थिएन, सबै निकायसँग समन्वय गरी एक हप्ताअघि उपकरणहरू कलकत्ताबाट आयोजनास्थलमा ल्याइसकिएको छ, अहिले उपकरणहरूको जडान र परीक्षण धमाधम भइरहेको छ ।”

कोलकाता विमास्थलमा ल्याइएका उपकरणहरू अलपत्र परेपछि लकडाउनमा पनि आवश्यक सुरक्षात्मक उपाय अपनाएर नेपाल ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले भारतीय समकक्षीसँग आग्रह गरेका थिए । त्यसपछि ९ वटा ट्रकमार्फत उपकरणहरू आयोजनास्थलमा ल्याइएको थियो ।

चीनमा उत्पादित उपकरणहरू भएकाले सञ्चालन परीक्षणका लागि चिनियाँ इन्जिनियरहरू लकडाउन सुरुहुनुभन्दा पहिले नै आइसकेका छन् । उपकरणको संचालनमा एक जना भारतीय इन्जिनियर आउनु पर्ने तर लकडाउनका कारण आउन नसक्ने भएपछि रिमोटमार्फत नै काम गर्न सक्ने व्यवस्था मिलाउनका लागि पहल भइरहेको घिसिङले जानकारी दिए । सबस्टेसनमा ३१५ एमभीएका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहने छन् । जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् ।

सम्भव भएसम्म तीनवटै र नभएमा कम्तिमा पनि दुईवटा पावर ट्रान्सफर्मर असारभित्रमा चार्ज गर्ने लक्ष्य राखिएको कार्यकारी निर्देशक घिसिङले बताए । सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुने छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने पूर्वाधार तयार हुनेछ ।

२२० केभी गोंगर(दोलखा)—खिम्ती—ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको माथिल्लो तामाकोसीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ । वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुज्जफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।

ढल्केबर–मुज्जफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा संचालनमा छ । ढल्केबरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा संचालन हुने छ । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत असारभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ ।

सबस्टेसन निर्माण भारतीय भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेका छन् । नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा सबस्टेसन निर्माण भइरहेको हो ।

प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००-२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ । उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सदृढीकरण गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: ‘रियल टाइम’ पीसीआर मेसिन खरिदमा करोडौं भ्रष्टाचार
सर्लाहीमा गैरकानूनी रुपमा सञ्चालन १६ क्रसर उद्योग बन्द
नेपाल रेल्वे: १२९ कर्मचारीको लागि ३२ हजार आवेदन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]