जेठ ८, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको माथिल्लो सदन सिनेटले केही चिनियाँ कम्पनीहरुलाई अमेरिकी स्टक एक्सचेञ्जमा डिलिष्ट गर्ने विधेयक पारित गरेको छ ।
नयाँ नियमअनुसार अमेरिकी स्टक एक्सचेञ्जमा सूचीकृत हुन विदेशी कम्पनीहरुले लेखांकन र अन्य वित्तीय नियमनमा अमेरिकी मापदण्ड पालना गर्नुपर्ने छ । राष्ट्रपति डोनल्ड ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नु पूर्व तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले पनि यसलाई पारित गर्नुपर्ने छ ।
कोरोना भाइरसको महामारीका विषयमा अमेरिका चीनबीच विवाद बढेकै र चिनियाँ कफी कम्पनी लकइनको लेखांकन घोटला सार्वजनिक भएकै बेलामा यो समाचार आएको छ ।
सार्वजनिक रुपमा शेयर कारोबार हुने कम्पनीहरुले स्वामित्वको प्रकार (व्यक्तिगत हो वा सरकार) भन्नेबारे खुलाउनु पर्ने व्यवस्थासमेत विधेयकमा छ ।
विधेयक सबै विदेशी कम्पनीका लागि लागू हुनेछ । यद्यपि यो विधेयक चिनियाँ कम्पनी लक्षित छ । चीनले शुरुआती चरणमा कोरोना भाइरसको महामारीको व्यवस्थापन राम्रोसँग गर्न नसकेको तर्क ट्रम्प प्रशासनको छ ।
आन्तरिक अनुसन्धानमा लकइन कफीले गत वर्ष करोडौं डलर बराबरको विक्री बढाइचढाइ गरेको सार्वजनिक भएपछि हालैका हप्तामा चिनियाँ कम्पनीमाथि निगरानी बढेको थियो ।
अनुसन्धानका क्रममा गत वर्षको दोस्रो त्रैमासदेखि चौथो त्रैमासमा कम्पनीले ३१ करोड डलरको विक्री बढाएको पाइएको छ ।
यो कम्पनीको कुल वार्षिक विक्रीको करीब ४० प्रतिशत बराबर हो । यस मामिलामा अमेरिका र चिनियाँ नियामकहरुसँग सहकार्य गरिरहेको लकइनले बताएको छ ।
अमेरिकी शेयर परिसूचक नास्डाकमा गत वर्ष लकइनको आईपीओ जारी भएको थियो । नास्डाकले लकइनलाई डिलिष्ट गर्दैछ । यसबारे कम्पनीलाई सूचितसमेत गरिएको छ । अप्रिल ७ यता बन्द रहेको लकइनको कारोबार वुधवार सुचारु भएको थियो । तर उक्त दिनको कारोबारमा शेयर मूल्य ३५ प्रतिशत भन्दा धेरैले घटेको थियो । एजेन्सी