नेपालका ३१ वटा जिल्लाहरूमा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेश बाहेकका ६ प्रदेशका ३१ वटा जिल्लामा कोरोनाको संक्रमण देखिएको जनाएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै प्रदेश ५ र २ मा संक्रमित देखिएका छन्। पछिल्लो समयमा यी दुई प्रदेश नै कोरोना संक्रमणको हटस्पट बनेका छन्।
बाँकेमा आज मात्र एकैदिन सबैभन्दा धेरै ४७ जनामा संक्रमण देखिएको छ। योसहित बाँकेमा मात्रै संक्रमितको संख्या ८१ पुगेको छ। यसमा एकजनाकाे मृत्यु भइसकेको छ।
आज थपिएका संक्रमित सबै बाँकेको नरैनापुर गाउँपालिकाका हुन्। हिजो, ४ जेठमा मृत्यु भएका युवक पनि नरैनापुरकै हुन्।
प्रदेश ५ का जिल्लाहरूमा संक्रमितको संख्या १५७ पुगेको छ।
त्यस्तै, प्रदेश २ मा हालसम्म संक्रमितको संख्या १३२ पुगेको छ। उक्त प्रदेशका ८ वटै जिल्लाहरूमा संक्रमण देखिसकेको छ।
आज साँझसम्मको मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार देशैभर संक्रमितको संख्या ३५७ पुगेको छ। दुईजनाको मृत्यु भइसकेको छ। ३६ जना निको भएर घर फर्किसकेका छन्।
प्रदेश १ मा ४०, बागमतीमा १८, गण्डकीमा ३ र सुदूरपश्चिममा ५ जना संक्रमित पुष्टि भएका हुन्। हालसम्म कर्णाली प्रदेशमा भने कसैमा पनि कोरोनाको संक्रमण देखा परेको छैन।
प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा पनि आज पहिलो संक्रमण देखिएको छ। आजै मोरङ, धनुषा, रौतहट, दाङ र धादिङका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
आजै, बिहान राष्ट्रिय जनस्वास्थ्य कार्यालय काठमाडौंमा गरिएको परीक्षणमा रौतहटमा ८ जनामा र बारामा एकजनामा संक्रमण देखिएको थियो।
मन्त्रालयले देशैभर पीसीआर विधिबाट ३० हजार ७२३ र आरडीटी किट विधि ६९ हजार ५६० नमूना परीक्षण गरिएको जनाएको छ।
पछिल्लो २४ घण्टामा २ हजार ५५८ पीसीआर विधिबाट र १ हजार ७९१ आरडीटीबाट विधिबाट गरिएका छन्। क्वारेन्टाइनमा आज देशैभर २० हजार ९० जना रहेका छन्।
प्रदेश १ मा १ हजार १८०, प्रदेश २ मा ३ हजार ८०, बागमतीमा २८५, गण्डकीमा ३९३, प्रदेश ५ मा सबैभन्दा बढी १२ हजार ८१५, कर्णाली प्रदेशमा ७०७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६३० जना रहेका छन्।
संक्रमित र सम्भावित संक्रमित गरेर देशैभर आज आइसोलेसनमा ४१२ जना रहेका छन्। सबैभन्दा धेरै प्रदेश ५ मा १७० र प्रदेश २ मा १३३ जना आइसोलेसनमा छन्। १ नम्बर प्रदेशमा २७, बागमतीम ७०, गण्डकीमा १, र सुदूरपश्चिममा ११ आइसोलेसनमा रहेका छन्।
यी जिल्लामा देखिएको छ कोरोनाको संक्रमण
झापा , मोरङ, उदयपुर, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिराहा, सर्लाही, चितवन, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बर्दिया, दाङ, बाँके, रूपन्देही, कपिलवस्तु, कञ्चनपुर, कैलाली, भोजपुर, काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर, धादिङ, बागलुङ, धनकुटा, गुल्मी ।