प्रदेश २ मा कोरोना संक्रमितको संख्यामा एक्कासि वृद्धि भएपछि प्रदेश सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन संघीय सरकारसँग थप बजेट माग गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणका लागि संघीय सरकारसँग थप बजेट माग गर्ने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउन बजेट माग गर्ने, सीमामा थप कडाइ गर्ने, सीमापारिको ओहोरदोहोरलाई निरुत्साहित गर्न प्रचार प्रसारलाई तीव्र बनाउने सहितको निर्णय गरेको हो ।
बैठकले सीमापारि रहेको नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आवश्यक कार्यविधि बनाई दिन संघ सरकारलाई आग्रह गर्ने र उनीहरूलाई स्वदेश ल्याउनुपर्ने अवस्थाका लागि प्रत्येक जिल्लामा थप तीन सय क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले जानकारी दिए ।
बैठकमा प्रमुख सचिव अर्जुन पोखरेल, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादव, प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीसहितको सहभागिता रहेको थियो ।