प्रदेश नं २ मा कोरोना संक्रमतिको संख्या दिनहुँ बढ्दै गएपछि सिराहामा निषेधाज्ञा जारी गरिएको छ ।
पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना संक्रमण नपाइएको सिराहा जिल्लालाई सुरक्षित राख्न बिहीवारदेखि निषेधाज्ञा जारी गरिएको हो ।
कोरोना संक्रमितको संख्या प्रदेश नं २ मा बढ्दै गएका कारण जोखिम बढेकाले अर्को सूचना नआएसम्मका लागि निषेधज्ञा जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए । संक्रमण थप फैलिन नदिन यस्तो कदम चालिएको उनले बताए । केही दिनदेखि खुकुलो पारिएको लकडाउन बिहीवार बिहानदेखि कडा पारिएको छ ।
अर्को जिल्लाबाट आउनेबिना पासका सवारी साधन तथा पैदलयात्रीलाई फिर्ता पठाउन र लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रण लिई संक्रमण रोग नियन्त्रण ऐनअन्तर्गत कारवाही गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ ।
अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्सबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा बन्देज लगाउने निर्णय गरेको छ ।
यस्तै छिमेकी देश भारतबाट आवतजावत पूर्णरुपमा बन्द गरिएकाले लुकीछिपी नेपाल प्रवेश गरेको पाइएमा त्यस्ता व्यक्तिलाई लुकाउने र लुक्ने दुवैलाई संक्रमण रोग नियन्त्रण ऐनबमोजिम कारवाही गरिने प्रजिअ गुरागाईँद्वारा जारी सूचनामा उल्लेख छ ।
सिरहा जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको समेत प्रजिअ गुरागाईँले बताए । उनले सिरहा जिल्लासँग जोडिएका जिल्लामा कोरोना संक्रमण पूष्टि भइसकेकाले ती जिल्लाबाट हुने आवतजावत रोक्न नाकामा व्यापक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिए ।
प्रदेश नं २ मा ९८ जना संक्रमित
प्रदेश नं २ को सिरहाबाहेक सातओटै जिल्लामा संक्रमितको संख्या ९८ पुगेको छ । पर्सामा ८२, बारा र रौतहटमा तीन–तीन, महोत्तरी र धनुषामा दुई–दुई र सर्लाही र सप्तरीमा एक–एक जनामा संक्रमण पूष्टि भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।
हालसम्म प्रदेश नं २ मा तीन हजार ९३६ जनाको स्वाब संकलन भएको छ । जसमध्ये दुई हजार ६५६ को नेगेटिभ परिणाम आएको छ ।
९८ जनाको पोजेटिभ परिणाम आएको छ भने एक हजार २०८ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
प्रदेशभर १७९ क्वारेन्टाइन सेन्टरमा चार हजार १९८ शय्या क्षमता छ । जसमा हाल एक हजार ४६८ क्वारेन्टाइनमा छन् । चार हजार ५२२ होम क्वारेन्टाइनमा छन् भने आइसोलेशन बेडमा जम्मा ४० जना छन् । रासस