रौतहट जिल्ला प्रशासनको पहलमा नेपाल भारत सीमाक्षेत्रको दशगजामा भारतीय पक्षले एकतर्फी रुपमा विस्तार गरिरहेको तटबन्धको काम रोकिएको छ । बन्दाबन्दीको समयमा भारतीय पक्षले केही दिनदेखि एकतर्फी रुपमा तटबन्धमाथि कम्तीमा पाँच फिट माटो र ढुंगा पुरेर थप अग्लो बनाउने काम गरिरहेको थियो ।
सीमा जोडिएका दुई देशका जिल्लाका प्रमुखहरूको बैठकमा तटबन्धको निर्माण तथा मर्मतको विषयमा कसरी व्यवस्थापन गर्ने भनेर सहमति भएको थियो ।
भारतीय पक्षले एकपक्षीय रुपमा बेवास्ता गर्दै आगामी वर्षामा आउने बाढीलाई रोक्न तटबन्धलाई अग्लो बनाउने काम गर्न थालेपछि ईशनाथ नगरपालिकाका तीन वटा गाउँका स्थानीयबासीले विरोध गरेका थिए ।
भारतीय पक्षले एकतर्फी रुपमा तटबन्धको स्तरोन्नति गर्दा करीब साढे दुई किलोमिटर लामो क्षेत्रमा पानी निकासको कुनै बाटो बनाएको थिएन ।
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेतृत्वमा आइतबार रौतहटको गौर नगरपालिकाका मेयर अजय गुप्ता, ईशनाथ नपाका मेयर सन्तोष मेहता, सशस्त्र प्रहरी उपरीक्षक रोबिनराज कर्णजित, नेपाल प्रहरीका रौतहट प्रमुख एसपी रविराज खड्का, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंहसहितको टोलीले निर्माणाधीन तटबन्धको स्थलगत निरीक्षण गरेका छन् ।
प्रजिअ घिमिरेले तटबन्ध निर्माण भइरहेको छिमेकी जिल्ला भारतको मोतिहारीका डीएम तथा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतसित सम्पर्क गरेर कुराकानी गरेपछि आइतबारदेखि नै तटबन्धको निर्माण कार्य रोकिएको छ।
सोमबार नेपाल र भारत दुवै देशका सम्बन्धित जिल्लाका पदाधिकारीहरुले दशगजा क्षेत्रको संयुक्त अनुगमन गर्ने तथा सीमा सर्वेक्षक उमेश कुमारले दशगजा क्षेत्रको नापजाँच गर्ने कार्यक्रम तय भएको प्रजिअ घिमिरेले जानकारी गराएका छन्।