प्रदेश २ को प्रवेशद्वारमा नै रहेको जनकपुरधाम उपमहा –नगरपालिकाको बेङ्गाशिवपुरमा विनोद साहले सञ्चालन गरेको सुभास क्रसर उद्योग वर्षौंदेखि नवीकरणबिना नै सञ्चालनमा रहेको पाइएको छ ।
यस्तै धनुषा जिल्लाको पूर्वी क्षेत्र चुरेको फेदमा रहेको गणेशमान चारनाथ नगरपालिकाको तल्लो गोदारमा सञ्चालित कमला स्टोन क्रसर उद्योगको नवीकरण २०७३ साउनदेखि नभए पनि निर्वाध रूपमा सञ्चालन हुँदैआएको छ ।
धनुषाकै दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको नगराईन नगरपालिका वडा नं. ४ मा सञ्चालित कुमारी माँ गिट्टी उद्योग पनि मापदण्ड विपरीत नै सञ्चालनमा रहेको पाइएको छ । जोगमायादेवी झाले सञ्चालन गरेको उक्त क्रसर उद्योगले नदीभन्दा ५०० मिटरको दूरीमा हुनुपर्ने मापदण्ड पालना गरेको छैन ।
उक्त उद्योगको नवीकरण २०६९ भदौ ११ गतेसम्म मात्र रहेको छ । सोही नपाको घोडघासमा अरुणकुमार साहले सञ्चालन गरेको जय मातादी स्टोन क्रसर उद्योग पनि मापदण्ड विपरीत सञ्चालन हुँदैआएको छ । उक्त उद्योगको नवीकरण पनि २०७३ मंसिर ११ गतेपछिको छैन ।
धनुषाकै लबटोलीमा सञ्जय शर्माले सञ्चालन गरेको कमलामाई क्रसर उद्योग एकातिर मापदण्ड विपरीत सञ्चालित छ भने अर्कोतिर २०७३ पुस २८ गतेपछि नवीकरण भएको छैन ।
मिथिला नगरपालिकाअन्तर्गत चुरेफेदमा रहेको तुलसीमा ज्ञानकुमारी देवीले सञ्चालन गरेको क्षिरेश्वरनाथ महादेव क्रसर उद्योग मापदण्ड पूरा नगरे पनि निर्वाध रूपमा सञ्चालनमा रहेको छ ।
ती क्रसर उद्योग मापदण्ड विपरीत रहेकोले घरेलु तथा साना उद्योग कार्यालय, जनकपुरधामले नवीकरण नगरेको कार्यालय प्रमुख सञ्जीवकुमार दुवेले जानकारी दिए ।
उनका अनुसार ती उद्योग मापदण्डअनुसार खोला, बस्ती, वन, राजमार्गबाट हुनुपर्ने निश्चित दूरीमा छैनन् भने तिनको वातावरणीय परीक्षण प्रतिवेदनसमेत छैन ।
नयाँ मापदण्ड पूरा नगरेका क्रसर उद्योगले ढुंगा, गिट्टी, बालुवा संकलन गरिरहेकाले त्यस्ता कार्य अविलम्ब रोक्न कार्यालयले २०७५ पुस १५ गते सबै क्रसर उद्योगलाई पत्राचार गरे पनि उद्योगीले बेवास्ता गरेको उनको भनाइ छ । ती उद्योगले नवीकरण नभए पनि आन्तरिक राजस्व कार्यालयमा राजस्व भने बुझाउँदै आएका छन्