मलेशियाको नेगरी राज्यको रेम्बाउस्थित केराबत प्रोसेसिङ हाउसमा कार्यरत २५ नेपाली कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन्।
२६ वैशाखमा उनीहरुमा संक्रमण देखिएको नेगरी राज्यमा रहेका नेपाली कामदारहरुले जानकारी दिएका छन्। उक्त कम्पनीमा नेपाली बाहेक १८ बाङ्लादेशी, आठ इन्डोनेसियन र म्यानमारका दुई कामदार पनि संक्रमित भएका छन्।
ती कामदारलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याउँदा संक्रमण पुष्टि भएको हो।
कुखुराको मासु उत्पादन तथा प्रोसेसिङ गर्ने उक्त कम्पनीमा एकै पटक ठूलो संख्यामा कामदार संक्रमित भएपछि कम्पनी बन्द गरिएको छ। कामदार संक्रमित भएको खबर पाए लगत्तै प्रहरी पुगेर कम्पनीमा सिल गरेको छ।
यसअघि २५ वैशाखमा क्वालालम्पुरको चेरासमा १० नेपाली संक्रमित भएको बताइएको छ ।
मलेशियामा २७ वैशाखसम्म कोरोनाभाइरस संक्रमित हुने नेपाली कामदारको संख्या ५१ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। मलेशियामा पाँच लाख नेपाली श्रमिक छन्।
मलेशियामा शनिबार साँझसम्म कोरोना संक्रमितको संख्या ६ हजार ५ सय नाघेको छ भने १ सय ८ जनाले ज्यान गुमाइसकेका छन्।