पर्सा र बारामा क्वारेन्टिनमा राखिएका ३ जनाको पीसीआर मेशिनमा गरिएको स्वाब परीक्षण पोजेटिभ देखिएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ४३ वर्षिय, बाराकै सिम्रौनगढ नगरपालिका ४ का ३१ वर्षिय र पर्साको वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षिय गरि ३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।
बुधबार कोरोनाको संक्रमण पुष्टि भएका बारा र पर्साका तीनै जना संक्रमीत मार्च १ देखि १५ तारिख सम्म दिल्लीमा भएको तबलीगी जमातमा सहभागी भइ नेपाल फर्किएको खुलेको प्रमुख सेनानी मदनजंग राणाले जानकारी दिए ।
राणाका अनुसार संक्रमीतहरुको ट्राभल हिष्ट्री अध्ययन गर्दा उनिहरु मार्च ६ तारिखमा दिल्ली गएर धार्मिक सभामा सहभागी भई मार्च ११ तारिख अर्थात गत फागुन २८ गते नेपाल फर्किएका हुन् ।
यसअघि गत आइतवार वीरगन्जमा भेटिएका २ संक्रमीत मध्ये वीरगन्ज १६ इनर्वाका ५५ वर्षिय संक्रमीतसँगै बुधबार कोरोना पुष्टि भएका ३ जना संक्रमीत पनि दिल्लीको तबलगी जमातमा गएर नेपाल फर्किएको पनि खुलेको राणाले जानकारी दिए ।
गत आइतवार वीरगन्ज १६ इनर्वाका ५५ वर्षिय र वीरगन्ज ३ छपकैयाका ४९ वर्षिय गरि २ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि सेनाले ती दुवै संक्रमीतको ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङ पनि शुरु गरेको थियो ।
त्यसक्रममा ९१ जनाको स्वाब संकलन गरि पिसिरिआर परिक्षणका लागि सोमबार काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
बुधबार काठमाण्डौको प्रयोगशालबााट प्राप्त ९१ जनाको रिपोर्ट मध्ये बारा र पर्साका ३ जनामा कोरोना पोजेटिभ देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
उनीहरू पनि भारत दिल्लीको मुस्लिम धार्मिक सभा तबलगी जमातमा सहभागी भएर नेपाल फर्किएको खुलेको छ । यसअघि गत आइतवार कोरोनाको पुष्टि भएका पर्साको वीरगन्जका २ मध्ये एक जना संक्रमीत पनि दिल्लीकै तबलगी जमातमा सहभागी भइ घर फर्किएको पुष्टि भएकोे थियो ।
त्यसअघि चैत ३० मा वीरगन्जको मस्जिदमा भेटिएका ३ जना भारतीय संक्रमीत पनि दिल्लीकै तबलगी जमातमा सहभागी नेपाल आएर बसेका थिए । पर्सा र बारामा आज सम्म कोरोनाको संक्रमण पुष्टि भएका ५ नेपाली र ३ भारतीय गरी ८ मध्ये ७ जना दिल्लीको तबलगी जमातमा सहभागी भइ नेपाल आएको खुलेको वीरगन्ज स्थित नेपाली सेनाको चण्डी प्रसाद गणका प्रमुख सेनानी राणाले जानकारी दिए ।
संक्रमित सबैलाई नारायणी अस्पतालको छुट्टाछुट्टै उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।
नारायणी अस्पतालमा अहिले ८ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । यसअघि रौतहटका एक युवक र वीरगन्जको मस्जिदमा भेटिएका तीन भारतीय जमातीहरू निको भएर फर्किएका छन् । प्रदेश २ मा अहिलेसम्म सर्लाहीमा १, रौतहटमा ३, बारामा २ र पर्सामा ६ जना कोरोना संक्रमित भेटिएका छन् । ती मध्य पर्सामा भेटिएका ३ जना भारतीय जमाती र १ जना रौतहटका युवा निको भएर गएका छन् ।
भारतीय सीमासँग जोडीएको प्रदेश २ मा कोरोना संक्रमण फैलिने उच्च संभावना देखेर पनि सरकारले यसको परीक्षणमा भने उदासिनता देखाउँदा प्रदेश २ का जनताको ज्यान जोखिममा रहेको छ । कम क्षमताको पीसीआर मेशिन जनकपुरमा जडान गरिएको भएपनि परीक्षण भरपर्दाे नभएपछि अहिले बन्द गरिएको छ ।
मुख्य नाका वीरगन्जमा भने पीसीआर मेशिन जडान अझै अन्योलमा छ । आवश्यक उपकरण औजारहरू नहुँदा पीसीआर मेशिन दुईहप्तादेखि नारायणी अस्पतालमै थन्किएको छ ।