About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
जनकपुरमा महिलाले पैसा फ्याँकेर भागेकाे हल्ला मात्र, घटना बन्यो सनसनी

खोज केन्द्र आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम- शुक्रबार अपराह्न जनकपुरको महावीरचोकस्थित सडकमा स्थानीयले १० रुपैयाँका १२/१३ वटा नोट खसेको देखे। केही नोट सडकमा झरेको थियो भने केही कच्याककुचुक पारेर पसलको सटरमुनि पुगेको थियो।

केही स्थानीयले दुईजना महिला सडकमा पैसा छरेर भागेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरे। प्रहरी र सञ्चारकर्मीलाई फोन गरे। केहीबेरमै प्रहरीको टोली घटनास्थलमा पुग्याे। अनि प्रहरीले आएर पैसा छरिएको स्थानमा स्यानिटाइजर छर्क्याे।

प्रहरी र स्थानीयको भनाइलाई आधार बनाएर सञ्चारकर्मीले ‘पैसा फ्याँकेर महिला फरार’ भनेर समाचार लेखे। केहीबेरमै सामाजिक सञ्जालका भित्ता समाचारले भरिए। स्थानीयको उजुरीका आधारमा प्रहरीले घटनालाइ गम्भीर रूपमा  लिएर अनुसन्धान थाल्याे।

अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम ब्रान्चले नजिकैको एउटा घरबाट सीसीटीभीको फुटेज नियन्त्रणमा लियो।

केहीबेरमै सीसीटीभी फुटेजबाट दुबै महिलाको हुलिया जिल्ला प्रहरी कार्यालयले सबै सञ्चारकर्मीलाई मेलमा पठायो भने आफ्नो आधिकारिक फेसबुक पेजबाट समेत सार्वजनिक गर्‍यो।

साेही साँझ जिल्ला प्रहरी कार्यालयले आफ्नो फेसबुक पेजबाट दुवैै महिलाको हुलिया हटायो। तर, उसले पठाएको हुलियाका आधारमा सबै सञ्चारमाध्यममा फेरि अर्को समाचार आयो।

सीसीटीभी फुटेजबाट प्राप्त हुलियाका आधारमा प्रहरीले दुवै महिलाको खोजी तीव्र बनायो। दुवै महिला शनिबार जनकपुरधाम–७ जानकी नगरस्थित मस्जिद पछाडिको घरबाट पक्राउ परे।

सामान्य सोधपुछपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍यायो। आरडीटी परीक्षणमा पोजेटिभ देखिएको खबर सार्वजनिक भएलगत्तै जनकपुरवासी थप त्रसित बने। त्यसपछि सबैको प्रतीक्षा पीसीआर रिपोर्ट थियो। अन्ततः दुवै महिला कोरोना संक्रमित नरहेको पीसीआर जाँचबाट पुष्टि भइसकेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीका अनुसार महिलाले पैसा फ्याँकेर भागेकाे कुरा हल्ला मात्रै रहेकाे बताउँछन्। उनका अनुसार ती महिला नातामा नन्द र भाउजू हुन्।

उनीहरु जानकी नगरमा छुट्टै घरमा बस्छन्। अलिना (भाउजू) का पति बितिसकेका छन् भने अमुनाका पति रोजगारीका लागि विदेशमा छन्।

अमुनाका पतिले पठाएको पैसा झिक्न उनीहरु शुक्रबार मुरलीचोकस्थित सहयोगी विकास बैंक पुगेका थिए।
बैंकबाट एक लाख रुपैयाँ झिकेर घर जाने क्रममा अमुनाको खल्तीबाट पैसा सडकमा झरेको सोधपुछबाट प्रस्ट भएको डीएसपी कार्की बताउँछन्।

‘उनीहरुले एक लाख रुपैयाँ बैंकबाट झिकेका रहेछन्, एक हजार रुपैयाँको दसदस रुपैयाँको नोट सटही गरेका छन्,’ उनले भने, ‘घर जाँदै गर्दा महावीरचोक पुगेपछि खल्तीबाट १० को १२/१३ वटा नोट सडकमा खसेछ। तर उनीहरुले पत्तो पाएनछन्।’
सडकमा पैसा छरेको देखेपछि स्थानीयले खबर गरेको जानकारी उनले दिए।

उनले भने, ‘अनुसन्धान सुरु भयो, मिडियामा छ्यापछ्याप्ती समाचार आइहाल्यो। तर, सीसीटीभी फुटेजमा उनीहरुले पैसा फ्याँकेको देखिएको छैन।’

उनीहरु घर नपुग्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पैसा फ्याँकेर दुई महिला भागेको थाहा पाएपछि पैसा हराएको बारे परिवारका सदस्यलाई समेत जानकारी नगराएको कार्कीले बताए।

‘घर पुगेर आफ्नो खल्तीबाट पैसा झरेको उनीहरुले थाहा पाएछन्। तर, त्यतिबेरसम्म चारैतर्फ हल्ला फैलिइसकेको रहेछ। अनि परिवारका सदस्यलाई पनि नभनेर चुपचाप बसेछन्,’ कार्कीले भने, ‘सीसीटीभी फुटेजबाट प्राप्त हुलियाका आधारमा प्रहरी उनीहरुको घरसम्म पुगेपछि उनीहरुले डरले केही नबोलेको बताए।’

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]