About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
नेपाल भ्रमण वर्ष २०२० : उद्घाटन भव्य बनाउन २ करोड रुपैयाँ खर्च गरिँदै

खोज केन्द्र मंगलबार, पौष ०८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० को पुस १६ गते (जनवरी १) मा हुने औपचारिक उद्घाटन कार्यक्रमलाई भव्य बनाउन २ करोड रुपैयाँ खर्च गर्दै छ । दशरथ रंगशालामा हुने उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भ्रमण वर्ष औपचारिक रूपमा शुरू भएको घोषणा हुनेछ । 

उद्घाटन कार्यक्रममा सहभागिताका लागि सरकारले ३१ मुलुकका पर्यटन मन्त्रीलाई आमन्त्रण गरेको छ । यसमध्ये १० मुलुकका पर्यटन मन्त्रीको सहभागित निश्चित भइसकेको पर्यटन मन्त्रालयले बताएको छ ।

भ्रमण वर्ष २०२० लाई भव्य उद्घाटन गरी नेपाल पर्यटकीय हिसाबले सुरक्षित र आर्कषक गन्तव्य हो भन्ने सन्देश प्रवाह गरिने भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यको भनाइ छ । उनले भ्रमण वर्ष उद्घाटन कार्यक्रम हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) पछि नेपालमा आयोजना हुने अर्को ठूलो अन्तरराष्ट्रिय स्तरको कार्यक्रम हुने बताए । त्यसका लागि सचिवालयले सम्पूर्ण तयारी गरिरहेको वैद्यले जानकारी दिए ।

उद्घाटन कार्यक्रमको खर्च नेपाल भ्रमण वर्ष सचिवालयलाई सरकारले उपलब्ध गराएको वार्षिक बजेटअन्तर्गत रहेको पर्यटन मन्त्री योगेश भट्टराईले बताए । सरकारले हालै भ्रमण वर्षका लागि  ६१ करोड ७४ लाख बजेट स्वीकृत गरेको छ । त्यसमध्ये पर्यटन मन्त्रालयबाट १० करोड र नेपाल पर्यटन बोर्डबाट १० करोड गरी २० करोड रुपैयाँ उपलब्ध भएको भ्रमण वर्ष सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार राजधानीमा दशरथ रंगशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीहरूले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।

त्यस्तै, पुस २२ गते (जनवरी ७) मा विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीहरूमार्फत उद्घाटन गरिने मन्त्री भट्टराईले बताए ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष शुरू गर्न लागेको हो । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्ममा ९ लाख ७५ हजार ५५७ जना पर्यटक नेपाल भ्रमण गरेको अध्यागमन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । पर्यटन मन्त्री भट्टराईले भ्रमण वर्ष घोषणासँगै सन् २०२०–२०३० लाई पर्यटक दशकका रूपमा मनाउने गरी तयारी गरिएको समेत जानकारी दिए ।

‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य हो । तर, २०२० अन्तिम होइन, यो भ्रमण वर्षको शुरुआत हो । हामी १ दशकलाई पर्यटन दशकका रूपमा मनाउने अभियानमा छौं,’ उनले भने ।

भ्रमण वर्ष शुरू हुन मात्र १ साता बाँकी रहँदा पर्यटन मन्त्रालय, भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्ड यसको उद्घाटन कार्यक्रमलाई भव्य बनाउने तयारीमा जुटेको भ्रमण वर्ष सचिवालयका उपसचिव राजन पौडेलले जानकारी दिए ।

पर्यटन मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउन शनिवारबाट शृंखलाबद्ध रूपमा विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरूसँग छलफल शुरू गरेको  छ । सोमवार मात्रै पर्यटन मन्त्री भट्टराईले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू, स्काउट, लायन्स, रेडक्रसजस्ता संस्थासँग अन्तरक्रिया गरेका थिए ।

भ्रमण वर्षको उद्घाटनको दिन आप्mना कार्यालय र देशभरिका शाखा कार्यालयहरूमा दीपावली गर्न अपील गरिएको छ । यसबाट समग्र देश नै एउटा उत्सवमा सहभागी भएको सन्देश जाने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कथन छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]