प्रहरीले ग्राहक भेषमा जगदम्बा ब्रान्डको उत्पादक शंकर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक तथा नेपालका लागि किर्गिस्तानका अवैतनिक वाणिज्य दूत (अनररी कन्सुलर) सुलभ अग्रवाललाई थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखालाई केही दिन अघि बजारमा चरम अभाव रहेको ज्वरो नाप्ने यन्त्र (थर्मल गन) बढी मूल्यमा विक्री वितरण भइरहेको सूचना आएको थियो ।
प्रहरीले यो सूचनासँगै कालोबजारी गर्ने मुख्य ब्यक्तिलाई नियन्त्रणमा लिने योजना बनायो । यसका लागि महाशाखाका एसपी हृदय थापालाई टिम तयार गर्न भनियो । उनले सूचना अनुसार ग्राहक बनेर अज्ञात ब्यक्तिसँग थर्मोमिटरको ‘डिल’ सुरु गरे ।
अज्ञात बिक्रेताले सुरुमा प्रतिगोटा रू.२० हजारमा दिनसक्ने बताए । तर ग्राहकको भेषमा कुरा गरिरहेका प्रहरी अधिकारीहरूले उनलाई प्रतिगोटा रू.१५ हजारमा विक्रीका लागि मनाए । अनि रकम लेनदेनको कुरा सुरु भयो ।
प्रहरीलाई अज्ञात बिक्रेताले एकहात नगद र अर्को हात सामानको शर्त राखे । प्रहरीले केही घण्टामै १५ लाख रुपैयाँ जुटाउने अवस्था थिएन । मंगलबार ती अज्ञात बिक्रेतालाई १० लाख रुपैयाँ बराबरको सामान लिएर आउन भनियो ।
प्रहरीले बाेलाएकै ठाँउमा उनी सरासर कूटनीतिक नम्बर प्लेटको गाडीमा १० लाख रुपैयाँ बराबरका ६७ गोटा थर्मल गन सहित आएपछि प्रहरीले पक्राउ गर्यो । सुरुमा उनी को हुन ? खुलेन । तर उनका साथबाट बरामद परिचयपत्र देखेपछि प्रहरी समेत केही समय अचम्ममा पर्यो ।
उनी थिए जगदम्बा सिमेन्ट, छड र धागोका मालिक सुलभ अग्रवाल । जो नेपालकालागी किर्गिस्तानको अनररी कन्सुलरका हैसियतमा परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको कुटनीतिक नम्बरको गाडीमा कालोबजारी गर्न थर्मल गन बोकेर आएका थिए।
“समाजका अग्रणी उद्योगी र कुटनीतिज्ञ नै यस्तो अवस्थामा कालोबजारी गर्ने ब्यक्ति रहेछन,” महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने “हामी उनका साथमा कालोबजारीका लागि राखेका अन्य स्वास्थ्य सामाग्री होलान् खोज्दैछौं।”
महाशाखाले अग्रवाललाई पक्राउ गरेर टेकुस्थित कार्यालयमा राखेर सोधपुछ गरिरहेको छ।