सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका छन् । सरकार र नेकपाले समाजवादीलाई वास्ता गर्न छोडे पनि समाजवादीले सरकार नछोड्ने जनाएको छ ।
समाजवादीका एक नेताले संविधान संशोधनको सर्तसहित सरकारमा सहभागी भएकाले संशोधनको काम पूरा गराउन सरकारमा बसिराख्ने बताए । पार्टीले अहिले सरकार छोड्ने निर्णय नगरेकाले सरकारमै बसेर संघर्ष गरिराख्ने समाजवादी पार्टीको रणनीति रहेको छ ।
गत ३ असोजमा सरकारले संविधान दिवस भव्य रूपमा मनाउँदै गर्दा सत्ता साझेदार समाजवादीले बहिष्कार ग¥यो । संविधान दिवस मनाउँन छोडेर उपप्रधान तथा कानुनमन्त्री रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा गएका थिए ।
उनको दल समाजवादी पार्टीले देशैभरि संविधान दिवस बहिष्कार गर्यो । प्रदेश २ सरकारका मुख्यमन्त्री एवं समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका लालबाबु राउतले संविधान दिवस बहिष्कार मात्रै गरेनन्, संविधानका विरुद्धमा आयोजित कार्यक्रममा सहभागी भएर संविधान र संघीय सरकारको चर्को आलोचनासमेत गरे ।
यादव विदेश भ्रमणमा रहेकै बेला यता संविधान दिवस सरकारले भव्य रूपमा मनाउँदै थियो । तर, समाजवादी पार्टीकै संघीय परिषद् अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा संविधानको मस्यौदासमेत गरेका डा. बाबुराम भट्टराईले समाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रममा संविधान र संघीय सरकारको आलोचनामा समय खर्च गरे ।
पछिल्लो समय बसेको समाजवादी पार्टीको संघीय परिषद् बैठक र केन्द्रीय कमिटी बैठकमा सरकार र नेकपाको आलोचना गरिएपछि प्रधानमन्त्री ओली झन्झ रुष्ट भए । तर, सरकार छोड्ने भट्टराईको प्रस्ताव यादवले अस्वीकार गर्दै सरकारमै बस्ने निर्णय गराए ।
सत्तासाझेदार दलको जस्तो व्यवहार नदेखिएपछि समाजवादीलाई वास्ता गर्न छोडिएको वालुवाटार स्रोतको भनाइ रहेको छ । सरकारमै सहभागी भए पनि समाजवादी पार्टीका नेताले सार्वजनिक कार्यक्रममा सरकारको आलोचना गर्नबाट पछि हटेका छैनन् । प्रतिपक्षी दलको जस्तै संविधानदेखि सरकारसम्मको विरोध गर्न थालेपछि प्रधानमन्त्री ओलीले समेत समाजवादीलाई वास्ता गर्न छोडेको ओली निकटका एक नेताले बताए ।
पछिल्लो समय मन्त्रीपरिषद् पुनर्गठन गर्दै गर्दा प्रधानमन्त्री ओलीले समाजवादीसँग कुनै सल्लाह गरेनन् । स्वास्थ्यमन्त्री रहेका यादवलाई कानुनतर्फ
सरुवा गरे । त्यतिबेला उनी भारत भ्रमणमा रहेका थिए । स्वास्थ्य राज्यमन्त्री रहेका डा. सुरेन्द्र यादवलाई पदमुक्त गरियो । त्यतिबेला यादव वीरअस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।