लकडानबाट पिडित परिवारलाई धनुषाको मिथिला नगरपालिकामा आइतबारबाट राहत वितरण कार्य सुरु गरिएको छ ।
कोरोना भाइरस संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्नका लागि सरकारले लकडाउन घोषणा गरेपछि खाद्यान्न समस्या भएका परिवारलाई राहत वितरण सुरु गरिएको हो ।
नगरपालिकाले १५ किलो चामल, २ किलो दाल, १ किलो नुन र आधा लिटर खाने तेललगायतका खाद्यान्न सामग्री वितरण गरिएको जनाएको छ ।
नगरपालिकामा ११ वटा वडाका २५ सय घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिने मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले बताए ।
११ वटै वडाका वडाध्यक्षहरुले उपलब्ध गराएको तथ्याङ्कअनुसार खाद्यान्न सामग्री वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
प्रदेश सरकार र स्थानीय तह दुवैको संयोजनमा राहत वितरणको काम सुरु गरिएको छ ।
राहत वितरणमा प्रदेश सरकारले उपलब्ध गराएको १५ लाख र बाँकी रकम नगरपालिकाले थप्ने नगरप्रमुख महतोले जनाए ।
संघीय सरकार र प्रदेश सरकारले राहत सामग्री वितरणमा मापदण्ड तयार गरेको छ । सरकारले तयार पारेको कार्यविधि अनुसार १५ लाख रुपैयाँले २ हजार ५ सय घर परिवारलाई राहत बाँड्दा रकम अपुग भएकाले मापदण्डभन्दा केही कम खाद्यन्य सामग्री वितरण गरिएको मिनपा अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए ।
मिथिला नगरपालिका वडा नं. ८ जमुनिबासमा पहिलो दिन राहत वितरण गरिएको छ । वडाको २ सय २५ विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको वडा अध्यक्ष देवनारायण महतोले बताए ।