About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
लकडाउनको दोस्रो दिन, सरकारको थप १२ निर्णय(पूर्ण पाठ)

खोज केन्द्र बुधबार, चैत्र १२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

विश्वव्यापी महामारी बनेको कोरोना संक्रमणको जोखिमबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) को दोस्रो दिन बुधबार सरकारले थप १२ निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले बन्दाबन्दी व्यवस्थापनबारे १२ निर्णय गरेको हो । बन्दाबन्दीको अवधिमा अत्यावश्यकीय सामग्री उपलब्ध गराउने देखि नियम गर्ने कार्यविधिबारे समेत सरकारले निर्णय गरेको छ ।

स्थलगत आवागमन र हवाई उडान बन्द गरेको सरकारले रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात–निर्यात कार्य सुचारु गर्ने निर्णय पनि गरेको छ ।

समितिको निर्णय पूर्ण पाठ

१. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीन तर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने । यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने ।

२. अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने ।

३.औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने। यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने ।

४.औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने । गृह मन्त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने ।

५. ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने । यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने ।

६. स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सहजीकरण गर्ने ।

७. अति आवश्यक परी खाद्यान्न ढुवानी गर्नुपरेमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाउने ।

८. इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत महसूल र भन्सार महसूल छुट दिने व्यवस्था मिलाउने ।

९.गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा नेपालका विभिन्न स्थानहरूमा रहेका विदेशी नागरिकहरूलाई हवाई उद्धार गरी काठमाडौं ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो देश फर्की जान सहजीकरण गर्ने । यसरी ल्याइएका विदेशीहरूलाई विमानस्थलबाटै आफ्नो देश फर्की जाने उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकको होटेलमा निजहरूकै खर्चमा क्वारेन्टाइनमा राख्ने ।

१०. स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रभित्रका वडाहरूमा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्ने ।

स्थानीय स्वास्थ्य संयोजकले कोभिड–१९ को लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउने। यस्तो विवरण प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा र सो केन्द्रले आपतकालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउने ।

११.प्रदेश र स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

१२. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ४ अंकको टोल फ्री टलिफोन सेवा जडान गर्ने व्यवस्था मिलाउने ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता
प्रदेश २: ३२ लाख नक्कली नेपाली रुपियाँ बरामद
जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्थानीय तहसम्म संगठन बिस्तार गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]