सरकारले मंगलबार बिहान ६ बजेदेखी पुरै देश लकडाउन गरेका कारण प्रदेस २ सहित सप्तरीमा पनि यसको प्रभाव देखिएको छ । प्रदेस २ सहित सप्तरीका प्रमुख बजारहरु सुनसान देखिएका छन् ।
फाँटफुट बाहिर निस्केका सर्वसाधारणलाई सडकमा खटिएका नेपाली सेना र सुरक्षाकर्मीहरुले सम्झाई बुझाई फर्काउँदै गरेको देखियो । बिहानदेखी स्थानिय प्रशासनले प्रमुख बजारमा म्याकिङ समेत गराउँदै घर बाहिर ननिस्कन आग्रह गर्दै थिए । यसका बाबजुद अत्यावश्यक काम भन्दै केही सर्वसाधारण मास्क लगाएर घर बाहिर निस्केका थिए ।
प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा पहिलो दिन कसैलाई पक्राउ नगरिएको तथा फाँटफुट घर बाहिर निस्केकाहरुलाई पहिलो पटक सचेत गराउँदै घर फिर्ता पठाएको डिएसपी तिलक भारतीले जानकारी दिए ।
यस्तै कोरोना भाइरसको संक्रमणको जोखिमबाट जोगिन भारतीय सीमासँग जोडिएका सबै ९ वटै सीमा नाका बन्द गरिएको छ । हरेक सीमा नाकामा सशस्त्र र नेपाल प्रहरी परिचालित भई आवतजावत पूर्ण रुपमा रोकिएको छ । सशस्त्र र नेपाल प्रहरी अधिकांश सीमा नाकामा खटिएकाले सुरक्षाकर्मीको अभावका कारण लकडाउन सफल बनाउन सेनाको पनि सहयोग लिएको स्थानीय प्रशासनले जनाएको छ ।
सो क्रममा यहाँस्थित भिमदल गणबाट नेपाली सेनाको टोलीले प्रहरीसँग सँगै राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, खड्क नगरपालिका र रुपनी गाउँपालिकामा गस्ति सुरु गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।
कोरोनाका त्रासका कारण घरमै सीमित भएकाहरु अहिले फेसबुक र टेलिभिजनमा समाचार हेर्दै समय बिताउँदै गरिएको देखिएको छ । कोराना व्यवस्थापनका लागि हाल जिल्लाका चार अस्पतालमा ५६ वेडको आइसोलेशन तथा क्वारेन्टाइन कक्ष र १३ वटा आइसियु कक्ष तयार गरि आवश्यक उपकरणसहित तालिम प्राप्त चिकित्सकहरुको व्यवस्था मिलाइसकिएको तथा हालसम्म कुनै संक्रमित व्यक्ति फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
कतारबाट फर्किएकालाई कोरोना नभएको पुष्टि
यसैबीच कतारबाट चैत ८ गते घर आइपुगेका २७ वर्षिय शैलेन्द्र कुमार चौधरीलाई रुघाखोकी निको नभएपछि परिवारका सदस्यले मंगलबार बिहानै उपचारका लागि बिराटनगरस्थित कोशी अंचल अस्पतालमा पु¥याएका थिए । अस्पतालले उनको अवस्थामा निकै सुधार भएको र कोरोना भाइरस नभएको जानकारी दिएको छ ।