जनकपुरधाम । सेनिटाइजरको कालोबजारी गर्ने एक व्यापारी पक्राउ परेका छन् । विभिन्न सामानको कालोवजारी भइरहेको खबर आइरहेको बेला कालोवजार्री विरुद्ध विशेष अभियान शुरु गरिएको छ ।
लुकाएर राखेको ५ सय थान ह्याण्ड सेनिटाइजरसहित जनकपुरधामको भ्रमरपुराचोकस्थित अटल फार्मेसीका कर्मचारी अनिल यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले पक्राउ गरेको हो ।
अटल फार्मेसीका सञ्चालक प्रभास चौधरीले जनकपुरधाम उपमहानगरपालिका ४ स्थित श्याम मेडिकलबाट आफ्नो फार्मेसीको नाममा ५ सय थान ह्याण्ड सेनिटाइजर खरिद गरेर उपभोक्तालाई बिक्री नै नगरि आफ्नो गोदाममा राखेका थिए । अभावको बेलामा कालोबजारी गर्ने मनसाय प्रष्ट देखिएको बजार अनुगमन टोलीमा गएका जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गणेश मिश्रले बताए ।
अटल फार्मेसीका सञ्चालक तत्काल त्यहाँ उपस्थित नरहेकोले सोधपुछका लागि उनको कर्मचारी अनिललाई प्रहरीले नियन्त्रणमा लिएको हो । बजार अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जनकपुरधाम उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सहभागी थिए ।
विश्वभरि महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस प्रकोपको मौकामा ह्याण्ड सेनिटाइजर, मास्क, तथा अन्य उपभोग्य वस्तुको कालोबजारी बढेको छ । जनकपुरधाममा खाद्यान्न समानहरुको पनि अत्यधिक माँग वढी रहेको छ । यसबीच जनकपुरधाममा २ हजारमा ग्यास विक्री हुन थालेको छ ।