प्रदेश २ को नाम र राजधानी बहुमत नपुग्दा अस्वीकृत भएको छ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरलाई बनाउने प्रस्ताव अस्वीकृत भएको छ।
प्रदेश सभामा अहिले भर्खरै भएको मतदानमा प्रस्तावको पक्षमा ५२ र विपक्षमा पनि ५२ नै मत परेको छ भने ३ म तबदर भएको छ।
१०७ सदस्य रहेको प्रदेश सभामा दुईतिहाइ बहुमतका लागि ७२ मत आवश्यक पर्छ।
प्रदेशको स्थायी राजधानी जनकपुरधाम (जनकपुर मिथिला माध्यमिक परिक्रमा, ढल्केबर पूर्व पश्चिम लोकमार्गदेखि दक्षिण र दक्षिण दशगजा) बनाउन सत्यनारायण मण्डल, रामसरोज यादव, परमेश्वर साह प्रस्तावक रहेको प्रस्ताव दर्ता भएको थियो। यो चार दलको संयुक्त प्रस्ताव हो।
यो प्रस्तावमा दुईतिहाइ नपुगेपछि प्रदेशको राजधानीको लागि दर्ता भएको वीरगञ्जको लागि निर्वाचन सुरु भएको छ।
आज नै नामकरणको लागि भएको निर्वाचनमा प्रस्तावित चारवटै नाममा दुईतिहाइ मत नआएपछि सबै प्रस्ताव अस्वीकृत भएका थिए।
नामकरणको लागि जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, मध्य मधेश प्रदेश र मधेश प्रदेश प्रस्ताव दर्ता भएका थिए।
लामो माथापच्चीपछि प्रदेश नम्बर २ को नामकरणका लागि प्रदेश सभामा मतदान भए पनि त्यसको टुंगो भने लागेन। आज (मंगलबार) दिनभरको मतदानमा पनि टुंगो नलागेपछि प्रदेश २ को नामकरण थप अन्योलमा परेको छ।
आज चारवटा प्रस्तावमा मतदान भएको थियो। नेकपाले प्रस्ताव गरेको जानकी, नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा, कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको मध्य मधेश र सत्तासीन दल समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको मधेश प्रदेशमा छुट्टाछुट्टै मतदान भए पनि कुनैमा पनि दुई तिहाइ पुगेन।
१०७ जना सांसद रहेको प्रेदश २ मा दुई तिहाइ बहुमतका लागि ७२ मत आवश्यक पर्छ। तर, कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ पुगेन।
सत्तासीन दल समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको मधेश प्रदेशकाे पक्षमा दुईतिहाइ बहुमत पुग्ने अपेक्षा गरिएको भए पनि पक्षमा ६० मत पर्यो भने विपक्षमा ४६ मत। एक मत भने बदर भएको छ।