About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
कतारमा दुई हजार नेपाली क्वारेन्टाईनमा, क्याम्प बहिर हिडेका दुई सय ५० लाई काठमाडौं फर्काए

खोज केन्द्र मंगलबार, चैत्र ०४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

कतारको औद्योगिक क्षेत्र (सनैया) मा बस्ने पोखराका अनिलकुमार सुनार शुक्रबार दिउँसो साढे ३ बजे किनमेलका लागि आफ्नै गाडी लिएर कोठाबाट निस्किए । नेपाली खाना सप्लाई गर्ने क्याटरिङ चलाएका उनलाई शनिबारका लागि चाहिने सरसामानको जोहो गर्नु थियो ।

किनमेल गर्न नपाउँदै उनीलगायत करिब २ सय ५० नेपाली डिपोर्ट गरिए । उनीहरू किन डिपोर्टमा परे ? सोमबारमात्र काठमाडौं ल्याइएका सुनारलगायतको ठूलो जमात अलमलमा थियो ।

शुक्रबार गाडीमा सुनार र उनका काका थिए । कतारी सुरक्षाकर्मीले सनैयास्थित ३८ नम्बर कचरा मार्केट नपुग्दै बाटोमा रोके र गाडीबाट बाहिर निस्कन लगाए । उनले प्रहरीलाई कतारी परिचयपत्र, गाडीको इस्तामारा र लाइसेन्स देखाए । ‘अहिले कोरोनाको चेक भइरहेको छ ।

गाडी तेरो हो । मान्छे तैँ नै हो । तँ जहाँ गए पनि फर्केर यही आउने हो । गाडी साइड गर । तँ हामीसँग हिँड्,’ कतारी प्रहरीले उनलाई भन्यो । उनले गाडीलाई बाटोकै छेउमा साइड लगाए ।‘कोरोनोको बिगबिगी चलेको छ । अरू क्याम्पबाट पनि चेक गर्न लिएर गएको होला भन्ठान्यौं । ठीक छ भन्दै गाडी बाटोमै साइड लगाए,’ काठमाडौं उत्रिएपछि उनले कान्तिपुरसँग भने, ‘प्रहरीको गाडीभित्र हालेपछि दुई हातलाई पछाडि लगेर हतकडी लगाइदियो । मोबाइल स्विच अफ गरिदियो ।’

उनले कसैलाई सम्पर्क गर्न पाएनन् । प्रहरीको भ्यान ग्रान्ड मल मार्केटमा गएर केहीबेर राखेपछि उनलाई सनैयाको २ नम्बरस्थित डिपोर्टटेसन सेन्टर (सफर जेल) मा लगेर राखिदियो । त्यो जेलभित्र धमाधाम पक्राउमा परेका नेपाली, बंगाली, पाकिस्तानी र इथोपियनलाई ल्याइरहेको थियो । जेलभित्र एकैछिनमा झापाको काँकडभिट्टाका कृष्ण भट्टराईसहितको टोली आइपुग्यो । ४६ वर्षीय भट्टराई दुई वर्षदेखि वकिल ट्रेड सर्भिस कम्पनीको फोरम्यान थिए । उनी सल्वारोडमा तरकारी किन्न गएका थिए ।

‘मान्छे समात्न प्रहरीले ८–१० वटा बस लिएर गएको रहेछ । बाटोमा जो जो भेट्छ । सबैलाई बसमा हालेर ल्यायो । ती सबै बस कामदारले भरिएका थिए,’ उनले थप जानकारी दिए, ‘किनमेल गरेर कामदारलाई ल्याइरहेको रेड्को अलमान कम्पनीको बसलाई त क्याम्पतिर छिर्न नै दिइएन । बाटोबाटै घुमाएर प्रहरी थानाभित्र ल्यायो ।’

उनीहरूलाई राखिएका जेलका सबै भवनहरू शुक्रबार समातिएका कामदारले भरिएका थिए । ‘मान्छे कति थिए कति,’ अल वन्दरी इन्जिनियरिङ कम्पनीमा काम गर्ने धनुषाका अशेश्वर खत्वेले भने, ‘कोठामा नअटेर बरन्डामा राखिएको थियो । मान्छेलाई आँखाले हेरेर भ्याउँदैन्थ्यो, त्यत्रा मान्छे थिए । हजारभन्दा बढी थिए होला ।’
मान्छे धेरै भएर होला, प्रहरीले थालमा समेत खाना खुवाउन सकेनन् । ‘लामो प्लास्टिकलाई भुइँमा बिछ्याइएको थियो । त्यसमाथि भात हाल्दै जान्थ्यो । हामीलाई प्लास्टिकको दायाँबायाँ लाममा राखिएको थियो । जसले जति पाउँछ । त्यति खान्थ्यौं,’ भट्टराईले भने, ‘प्रहरीलाई भित्र कति कैदी छ भन्ने नै थाहा भएन । बेडसिटकै प्लास्टिकलाई च्यातेर सुत्नुपर्‍यो ।
‘हामी बिहान ४ बजे क्याम्पबाट निस्किन्छौं । बेलुका ६ बजे आएर सुत्छौं । शुक्रबार दिउँसो तरकारी किन्न जाँदा पक्राउ परियो । कसैले पनि बाहिर निस्किनु हुँदैन भनेको थिएन । क्याम्पबाट बाहिर निस्किनुलाई ठूलो अपराध गरेको रूपमा सरकारले लियो । उल्टो कम्पनीले दिएको ३२ सय रियाल पनि कतारी प्रहरीले खाइदियो । – बिल्टु दास, कतारबाट डिपोर्ट भएका कामदार ।
जेलभित्र लैजाँदा पनि उनीहरूले आफूहरूलाई कुन अभियोगमा पक्राउ गरेको भनेर सोध्दा कसैले जवाफ दिएनन् । उल्टो चुप लागेर नेपाल फर्किन डरत्रास देखाइयो । ‘प्रहरीको ठूलो हाकिम आयो ।
हाम्रो समस्या के छ ? के गल्ती गरेका छौं भनेर मैले सोधे,’ भट्टराईले भने, ‘ऊ निकै रिसायो । सात्तो लिने गरी करायो । कोही गइनस् भने तिमीहरूलाई योभन्दा ठूलो जेलमा हाल्छौं भन्यो ।’
जेलमा तीन दिन राखे ।
कतिको कोरोना लागेको छ कि छैन भनेर जाँच पनि गरे । ‘एउटालाई कोरोना देखियो भन्दै हामीबाट अन्तै लगे । तर हामीलाई चेक गर्दा देखा परेन,’ खत्वेले भने, ‘कोरोना अन्त्य हुन्छ भन्दा उल्टो कोरोना लाग्छ भन्ने डर भयो । कोठाभित्र प्रार्थना गरेर बस्यौं ।’

जेलभित्रको कोठा निकै चिसो बनाइएको थियो । ‘चिसोले गर्दा खोकी लागेको हुन्छ । अनिद्राको कारणले आँखा रातो हुन्छ । भोकले शरीर घुमाएको हुन्छ । पीडा आफ्नो आफ्नो हुन्छ नि । सबैलाई स्वास्थ्य चेक पनि गर्‍यो,’ उनले भने, ‘हामी त भेडाबाख्रा जस्तै भयौं । आइज भन्दा आउने, जा भन्दा जाने ।’

आइतबार रात परेपछि भने सबैलाई कोठाबाट एक–एक गरी निकाले । ‘बाहिर ल्याएर घुँडा खुम्चाएर बसाले । मसँगै भएको भाइले हामीसँग खाने पैसा पनि छैन । घर कसरी जाने भन्दा प्रहरीको हाकिमले त्यो तेरो समस्या हो । तिमीहरूको सबै पैसा तेरो एकाउन्टमा हालिदिन्छौं । पैसा एम्बेसीमा गएर माग्नु भन्यो,’ जनकपुरको रामानन्द चोकका रन्धीरकुमार साहले भने, ‘जेलको चउरमा पुलिसको घेराभित्र राखेको छ । त्यसपछि ७/८ वटा बसमा सबैलाई पालैपालो चढाए । एउटा भ्यानमा हाम्रो सामान र दुई जना युवती पनि थिइन् ।
अगाडि तीन, पछाडि तीनवटा रातो गाडीको पुलिस र दुई साइडमा अल्फजा पुलिस र बीचमा हामी चढेको बस थियो । बसमा झन्डै दुई सय ५० नेपाली कामदार थिए । ठूलो अपराध गरेको कुख्यात अपराधी जसरी सुरक्षा दिएर हामीलाई सिधा एयरपोर्टमा ल्याए ।’ रातो गाडीको प्रहरीले कतारको आन्तरिक सुरक्षाको बन्दोबस्ती गर्छ भने अल्फजाले आप्रवासी कामदार मामिला हेर्छ ।

कतारमा लेबर काम गर्दै आएका धनुषाका बिल्टु दास । कम्पनीले जेलमा आएर दिएका ३२ सय रियाल प्रहरीले उनलाई फिर्ता गरेनन् ।

हमाद विमानस्थलमा आधा घण्टाजति लाइनमा बसाएको थियो । प्रहरीले जहाज चढ्ने अन्तिम कक्षमा ल्याएर छाडिदिए । ‘मलाई पक्राउ गरेपछि कम्पनीले जेलमा आएर सामान र पैसा दिएको थियो । मसँग ३२ सय रियाल (९६ हजार रुपैयाँ) थियो । प्रहरीले जाने बेला दिन्छु भनेर लिएका थिए,’ धनुषाका बिल्टु दासले भने, ‘एयरपोर्टमा दिन्छु भनेको थियो । एयरपोर्टमा आएपछि मैले पैसा मागेको त प्रहरीले मेरो गला पकडे । गइहाल तेरो पैसा छैन भने । के गर्ने प्रशासनसँग झगडा गर्न मिल्दैन ? हामीले केही गर्न सक्तैन । चुप लगाएर आयौं ।’ रेड्को अल्माना कम्पनीमा काम गर्ने उनी क्याम्पको गेट अगाडिबाट पक्राउ परेका थिए ।

सोमबार बिहान १०ः१५ मा काठमाडौं उत्रिएको ६५२ नम्बरको कतार एयरवेज पुरै डिपोर्ट भएका नेपालीले भरिएका थिए । ‘हामीजस्तो सामान्य कामदारमाथि कतार सरकारले अन्याय गरेको छ । हामीलाई क्याम्पबाट बाहिर निस्कनु हुँदैन भनेर कसैले भनेको थिएन । तर, सचेत गर्नुको सट्टा देश नै निकाला भयो,’ दासले भने, ‘हामीले त्यस्तो के अपराध गरेका थियौं ?’

भीडभाडको ठाँउमा जाँदा पक्राउ परेको हुन सक्छ’

डिपोर्टमा परेका भनिएका कामदारले नेपालमा वैदेशिक रोजगार बोर्ड वा कन्सुलर विभागमा गएर उजुरी दिनु भएमा हामी उहाँहरूले पाउनुपर्ने तलब र बोनसका लागि सम्बन्धित कम्पनीमार्फत दिलाउनेछौं । कानुनी तबरबाट उजुरी गर्न हामी फर्केका कामदारलाई अनुरोध गर्दछौं ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]