प्रदेशसभा सचिववालयले खेलकुदमा सहभागी भएका खेलाडी सांसद र कर्मचारीलाई जुत्ता समेत दिने भनेर निर्णय गरेको थियो । ४ हजार रुपैयाँसम्मको जुत्ता आफैं किनेर बिल पेश गर्न भनिएको थियो ।
‘सबै माननीयज्यूहरूको छुट्टाछुट्टै नाप हुने भएका कारण आ–आफैं किनेर बिल पेश गर्न भनिएको थियो,’ प्रवक्ता झाले भने, ‘तर अहिले उहाँहरूले बिल भने पेश गर्नुभएको छैन ।’
सांसदले २ हजार रुपैयाँमा किनेको जुत्ताको ५ हजार रुपैयाँको बिल प्रदेश सभाको नाममा बनाएर लगेको जुत्ता पसलका सञ्चालकले लोकान्तरलाई जानकारी दिए ।
‘१ जना महिला तथा १ जना पुरुषसहित २ जना सांसद मेरो पसलमा जुत्ता किन्न आउनुभएको थियो,’ जनकपुरको शिव चोकस्थित लभ्ली जुत्ता पसलका सञ्चालक जानी खानले भने, ‘तर उहाँहरूले २ हजारको बिलको ठाउँमा ४ हजार ९५ रुपैयाँ र ५ हजार रुपैयाँको शिखर कम्पनीको जुत्ताको बिल लग्नुभयो ।’
गत वर्ष समेत सांसदले यसरी नै ट्रयाक सूट र जुत्ता लिएका थिए, यस वर्ष पनि पाएका छन् । सेवासुविधा लिने कुरामा सबै सांसद एकजुट हुने गरेका छन् । गत वर्ष वार्षिकोत्सव मनाउने क्रममा भोजभतेर र मोजमस्तीमै २३ लाखभन्दा बढी रकम खर्च गरेको प्रदेशसभा सचिवालयले यस वर्ष कति रकम खर्च गर्यो भन्ने कुरा बताउन चाहेको छैन ।
‘अहिले सबै बिल आउन बाँकी नै रहेका कारण यस वर्षको वार्षिकोत्सवमा कति रुपैयाँ खर्च भयो भनेर अहिले नै भन्न सकिने अवस्था छैन,’ प्रवक्ता झाले भने ।
खेलमा सहभागी भएका ३६ जना सांसद र ३७ कर्मचारीले मात्र जुत्ता पाउने प्रदेशसभा सचिवालययले जनाएको छ ।