घरेलु मदिरा सेवनले सर्वसाधरण जनतामा निकै ठूलो क्षति पु¥याउँदै आएको छ । पछिल्लो चरणमा धनुषामा यसको ठू्लो नकारात्मक असर देखापरेको छ ।
घरेलु मदिरा सेवनका कारण त्यहाँ आधादर्जन मानिसको अकालमा ज्यान गइसकेको छ । यसले सर्वसाधरण जनतामा त्रास उत्पन्न गराएको छ । तर, यो घटनाले मदिरामा लत बसिसकेका स्थानीयमा त्यतिधेरै असर पारेको देखिँदैन ।
उनीहरू यस्ता घटना आफ्नै घरआँगनमा घट्दा पनि बेवास्ताकै अवस्थामा देखिन्छन् । तर, उनका घरपरिवार भने निकै नै त्रसित र आतंकित अवस्थामा बनिरहेका छन् ।
घरेलु मदिरा सेवनका कारण जसरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाजस्तो सानो इलाकामा यति धेरैको ज्यान गइरहेको छ, तथ्यांक र क्षतिका हिसाबले यो निकै नै भयावह अवस्था हो । यसबाट देशभरका जनताले पाठ सिक्नु जरुरी छ ।
लामो समय अन्न कुहाएर जाँडबाट घरेलु रक्सी बनाउने चलन नेपालको सन्दर्भमा पुरानो विधि र तरिका हो । ऋषिमुनिका पालामा ‘सोम’ नामको झारबाट मदिरा बनाइने हुनाले यसलाई सोमरस भन्ने चलन थियो । यो जडीबुटी झारबाट बनाइने भएकाले यसको औषधिजन्य उपयोग रहेको पनि देखिन्छ । तर, पछि यो चलन अन्नबाट मदिरा उत्पादन गर्नेतिर बढ्दै गयो । सायद यो खेतीपाती युगको उत्कर्षका बेलादेखि प्रचलनमा आएको हुनुपर्छ । तर, हाल निर्माण गरिएका घरेलु मदिरामा पहिलेको जस्तो न त औषधिजन्य गुण नै रह्यो, न त यसलाई सदुपयोग नै गरियो । बरु यसको स्वेच्छाचारी दुरुपयोग हुँदै गयो । यसले पिउने मानिसलाई जड्याहा बनायो र कुलततिर डो¥याउन थाल्यो । यसले सामाजिक सम्बन्ध र सद्भाव खलबल्याउँदै लग्यो ।
अर्कोतिर कृषि उत्पादन स्थानीय सापेक्षतामा क्रमशः कृषिउद्योग र व्यापारतिर मोडिँदै गयो । सामान साटासाट गरेर जीविकोपार्जन गर्ने पुरानो प्रचलन हराउँदै र सबै कुरा नगदमा गर्ने÷गरिने प्रचलन बढ्दै गयो । अन्न बेचेर पाउने नगदभन्दा मानिसले अन्न कुहाएर मदिरा बनाइ बेच्दा कैयौं गुणा मुनाफा पाउन थाले ।
नकारात्मकताका बाबजुद जीविकोपार्जनमुखी कृषि उत्पादन र बिक्री वितरणमा यसले थप टेवा पु¥याएझैं देखिन थाल्यो । स्थानीय बस्तीमा जनसंख्या बढ्दै जाँदा मदिरा उपभोग गर्ने मानिसको संख्यामा वृद्धि हुन जाँँदा पनि यसले अनावश्यक रूपमा फस्टाउने मौका पायो ।
कृषकले लामो समय काम गर्ने, थकान महसुस हुने, गरिबीका कारण चिन्ताले सताउने र काम गर्दा थिल्थिएको शरीर मदिरापानपछि बेहोसीका कारण आनन्द आउने र उधारो पनि पाइने र थोरै पैसामा पनि किन्न सकिने हुनाले पनि यसको उपयोगमा बढोत्तरी हुँदै गयो । मानिसले यसैलाई भूमिगत पेसाका रूपमा अपनाउन थाले ।
पछि आएर त यो मदिराजन्य पेयमा मादकता वा नशालुपन कसरी वृद्धि गराउने भन्ने उपायको खोजी स्थानीय जनताले गर्न थाले । सर्वसुलभताको हिसाबले कोदो, गहुँ, जौं वा मकैभन्दा पनि चामलको प्रयोग अत्यधिक हुँदै गयो । चामलबाट बनेको मदिरा अन्य खाद्यपदार्थबाट बनेको मदिराभन्दा कमसल र बढी हानिकारक तथा तामसीपन भएको पेयमा गनिन्छ ।
यो स्वास्थ्यका लागि पनि त्यत्तिकै हानिकारक हुन्छ । अझ यसलाई बढी नशालु बनाउनका लागि यसमा युरियाजस्तो रासायनिक मल मिसाउने, हवाइचप्पलको प्लास्टिकको फित्ता राखेर रक्सी बनाउने, अन्य जडीबुटी र तेलका साथै टिमुर र रसायन आदि प्रयोग गरेर यसलाई बढी मादक र नशालु बनाउने प्रचलन बढेर गएको देखिन्छ ।
एक त मदिरा, त्यसमा पनि यस्ता अखाद्य तथा विषजन्य पदार्थको प्रयोगले घरेलु मदिरा विषाक्त र ज्यानमारा बनाएको देखिन्छ । त्यसैले यस्ता ज्यानमारा घरेलु मदिरा उत्पादनमा रोक लाउनु जरुरी देखिन्छ ।