About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
अख्तियार रंगेहात पक्राउ गर्ने, अदालत सफाई दिने, क–कसले पाए सफाई ?

सेवाग्राही बाहेकसँग घुस लिँदा सफाइ ?

खोज केन्द्र शनिबार, चैत्र ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

काठमाडौं । रंगेहात घुससहित पक्राउ गर्नुलाई भ्रष्टाचार मुद्दामा सबैभन्दा ठूलो प्रमाण मानिन्छ । तर, त्यसरी पक्राउ परेका कर्मचारीले सफाइ पाउने क्रम बढेको छ । घुसररिसवत मुद्दामा पछिल्लो तीन महिनामा विशेष अदातलबाट १७ जना कर्मचारीले सफाइ पाएका छन् ।

रंगेहात पक्राउ परेका कर्मचारीले समेत सफाइ पाउन थालेपछि भ्रष्टाचारलाई प्रश्रय दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीको चिन्ता छ । विशेष अदालतले भने अख्तियारले दायर गर्ने मुद्दामा पर्याप्त प्रमाण नहुने गरेको फैसलामा उल्लेख गर्ने गरेको छ ।

सेवाग्राही बाहेकसँग घुस लिँदा सफाइ ?
घुस दिने व्यक्ति सेवाग्राही नभएका कारण पनि कतिपयलाई विशेष अदालतले सफाइ दिएको छ । नेपाल प्रहरीका डिएसपी श्यामकुमार राईलाई सफाइ दिँदा घुस दिने व्यक्ति प्रहरी कार्यालयको सेवाग्राही नभएको उल्लेख छ ।

बालुवा तस्करीको सहजीकरणका लागि भन्दै राईले घुस मागेको अख्तियारको दाबी थियो । पैसा भाटभटेनी सुपरमार्केटमा लगेर दिन उनले भनेको एसएमएससमेत प्रमाणका रूपमा पेस गरिएको थियो ।

आफूलाई थाहा नै नदिई घर्रामा पैसा राखिदिएको डिएसपी राईको जवाफ थियो । त्यसैलाई आधार मानेर उनलाई सफाइ दिइएको थियो ।

घुससहित पक्राउ परेका कोटेश्वरका ट्राफिक प्रहरीलाई सफाइ दिँदा पनि यही कुरालाई आधार बनाइएको छ । बालुवा व्यवसायीहरू ट्राफिक प्रहरीका सेवाग्राही नभएको भनिएको छ ।

अख्तियारका अधिकारीहरू भने सेवाग्राहीबाहेक अन्य व्यक्तिसँग समेत घुस लेनदेन हुने बताउँछन् । ‘कतिपय घुस लेनदेन नीतिगत रूपमा हुन्छन्,’ आयोगका एक अधिकारी भन्छन्, ‘कुनै प्रहरीले अवैध काममा कारबाही नगरेर घुस लिएको हुन सक्छ, त्यो अवस्थामा घुस दिने व्यक्ति सेवाग्राही होइन भनेर उन्मुक्ति दिन मिल्छ ?’ यसले गलत नजिर स्थापना गरेको कानूनविद्हरु बताउँछन् ।

अख्तियारले आफैँ पैसा दिएर पक्राउ गर्नु कति उचित ?
स्टिङ अप्रेसनका सबैजसो घटनामा अख्तियारले पहिले नै सेवाग्राहीलाई पैसा दिएर सम्बन्धित कर्मचारीलाई दिन लगाउँछ ।

आफैँले घुस दिन लगाएर पक्राउ गर्नु उचित हो कि होइन भन्ने बहससमेत सुरु भएको छ । यससम्बन्धी विवाद सर्वाेच्च अदालतसम्म पुगेको छ । अधिवक्ता विष्णुप्रसाद घिमिरेले अख्तियारको यस्तो कदम गैरसंवैधानिक भएको भन्दै रिट दायर गरेका हुन् । यससम्बन्धी मुद्दा सर्वाेच्चको संवैधौनिक इजलासमा विचाराधीन छ ।

भ्रष्टाचार निवारण तथा अख्तियारसम्बन्धी ऐनमा यससम्बन्धी प्रस्ट प्रावधान छैन । आयोगले बनाएको कार्य्विधिमा भने आफैँ पैसा दिएरसमेत पक्राउ गर्न सकिने प्रावधान छ । अख्तियारले दिने पैसामा रातो मसीको समेत प्रयोग गरिएको हुन्छ । त्यो पैसा सम्बन्धित कर्मचारीले समाउँदा हातमा मसी लाग्ने र त्यसैलाई एउटा प्रमुख प्रमाण मान्ने गरिएको छ ।

पहिला पैसा नदिँदा त्यो आफ्नै पैसा हो भनेर ढाट्न सक्ने भएकाले पनि यस्तो शैली अपनाउनु परेको आयोगका पदाधिकारी बताउँछन् । साथै सेवाग्राहीकै पैसा घुसबापत दिनुपर्दा आफ्नो पैसा गुम्न सक्ने भएकाले उनीहरूले उजुरी नगर्ने जोखिम हुन सक्ने आयोगका कर्मचारी बताउँछन् ।

क–कसले पाए सफाई ?

यातायात व्यवस्था कार्यालय, ठूलोर्भयाङ स्वयम्भूका सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक (निजी) नारायण श्रेष्ठलाई १६ हजार घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ र्गयो ।

गोइतलाई १६ हजार बिगो र मतियारको भूमिका खेलेको भन्दै श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐनबमोजिम जरिवाना र कैद सजायको दाबी गर्दै २१ भदौमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर र्गयो । तर, अदालतले गत १८ भदौमा सफाइ दियो ।

१९ वैशाख ०७५ मा अख्तियारले नापी कार्यालय साँखु काठमाडौंका प्रमुख नापी अधिकृत भागवत शाह र कार्यालयमा करारमा कार्यरत कार्यालय सहयोगी खेमराज भण्डारीलाई दुई लाख ५० हजार घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ र्गयो ।

८ जेठमा अख्तियारले बिगो जफत गरी बिगोबमोजिम जरिवाना र कैद सजाय तथा भण्डारीलाई पनि दुई लाख ५० हजार नै बिगो कायम गरी अदालतमा मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतको गत ५ मंसिरमा दुवैलाई सफाइ दियो ।

२० असोज ०७५ मा अख्तियारले महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राईलाई एक लाख ४० हजार घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ र्गयो ।

२८ कात्तिक ०७५ मा अख्तियारले उनलाई एक लाख ४० हजार नै बिगो कायम गरेर कैद सजायसमेत माग गर्दै अदालतमा मुद्दा दायर र्गयो । तर, २७ मंसिरमा अदालतले सफाइ दियो ।

भूमिसुधार तथा मालपोत कार्यालय कलैया बाराका खरिदार रामजीप्रसाद शाह र खड्गभक्त शर्मा खरेललाई अख्तियारले २३ हजार घुससहित पक्राउ र्गयो । उनीहरूलाई घुसबापतको रकम बिगो कायम गरेर अख्तियारले गत २५ वैशाखमा अदालतमा मुद्दा दायर र्गयो । तर, गत २३ पुसमा अदालतले सफाइ दियो ।

गाउँ परिषद्बाट विनियोजन गरिएको बाल विकासको ९० हजार रकम निकासा दिने क्रममा ३० हजार रुपैयाँ घुसबापतको रकमसहित पर्साको बहुदरमाई गाउँपालिका–६ का वडासचिव दीपक खनाललाई २८ असार ०७४ मा अख्तियारले रंगेहात पक्राउ र्गयो ।

घुसबापतको ३० हजार रुपैयाँलाई नै बिगो कायम गरेर अख्तियारले उनीविरुद्ध २० साउन ०७४ मा विशेष अदालतमा मुद्दा दायर र्गयो । तर, गत ३ माघमा विशेष अदालतले उनलाइ सफाइ दियो ।

महानगरीय प्रहरी प्रभाग, काँडाघारी, कोटेश्वर र सानोठिमीमा कार्यरत प्रहरी कर्मचारीले काँडाघारीबाट बालुवा बेचबिखन गर्ने व्यवसायीलाई विभिन्न बहाना बनाई, डर धम्की देखाई घुस माग गरेको उजुरीका आधारमा अख्तियारले ३० भदौ ०७५ मा नौजना प्रहरीलाई रंगेहात पक्राउ र्गयो ।

६ जनालाई जनही पाँच हजार र अन्य दुईजनालाई ३० हजार र ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले बताएको थियो । अख्तियारले काँडाघारीमा कार्यरत प्रहरी हवल्दार अमन चौधरीलाई पाँच हजार बिगो कायम गरेर जरिवाना र कैद सजायसमेतको दाबी गरी १८ असोजमा मुद्दा दायर र्गयो ।

त्यस्तै, सानोठिमी प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक सुवास ढुंगानाले रकम बुझी बाँडफाँड गरी प्रहरी हवल्दार दीपक भारतीलाई पाँच हजार दिइसकेको र प्रभागका प्रहरी नायब निरीक्षक ज्योति विष्टलाई २५ हजार छुट्याएको देखिएको भन्दै अख्तियारले विष्ट र ढुंगानालाई जनही ४० हजार र भारतीलाई पाँच हजार बिगो कायम गरी जरिवाना र कैदसमेतको दाबी र्गयो । यी दुवै मुद्दा अख्तियारले १८ असोज ०७५ मा विशेष अदालतमा मुद्दा दायर र्गयो ।

काँडाघारीकै प्रहरी जवान मानसिंह रोकालाई पाँच हजार र अर्का जवान रत्नप्रसाद रिजाललाई दुई हजार बिगो कायम गरी दुवैलाई जरिवाना र कैदसमेतको अभियोग अख्तियारले २१ असोजमा अदालतमा मुद्दा दायर र्गयो ।

काँडाघारीकै प्रहरी हवल्दार उमेशकुमार यादव र प्रहरी जवान देवेन्द्र कुँवरविरुद्ध पनि अख्तियारले जनही पाँचरपाँच हजार बिगो र कैद तथा जरिवाना मागदावी गर्दै २१ असोजमै विशेष अदालतमा मुद्दा दायर र्गयो ।

सोही घटनामा संलग्न प्रहरी प्रभाग काँडाघारीका प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठविरुद्ध ३० हजार र प्रहरी प्रभाव कोटेश्वरका प्रहरी जवान मुकेशप्रसाद पटेलविरुद्ध पाँच हजार रुपैयाँ बिगो दाबी गर्दै अदालतमा २२ असोजमा मुद्दा दायर र्गयो । तर, अख्तियारले रंगेहात समाएका सबैले गत ५ माघमा विशेष अदालतबाट सफाइ पाए ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कलैया, बारामा कार्यरत इलेक्ट्रिसियन श्यामकिशोर भगतलाई अख्तियारले १० असार ०७५ मा उनलाई ३० हजार घुससहित रंगेहात पक्राउ र्गयो । उनीविरुद्ध घुस लिएको रकमलाई नै बिगो कायम गरेर अख्तियारले १ साउन ०७५ मा मुद्दा दायर र्गयो । तर, गत २३ माघमा उनले सफाइ पाए ।

इलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर (करार) अशोककुमार सिंहलाई चार हजार घुससहित अख्तियारले गत २४ वैशाखमा रंगेहात पक्राउ र्गयो । घुस लिएको रकमलाई नै बिगो कायम गरेर अख्तियारले गत १३ जेठमा विशेष अदालतमा मुद्दा दायर र्गयो । गत १६ माघमा उनले सफाइ पाए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]