About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
मेयर र प्रहरीकै मिलेमतोमा अवैध क्रसर सञ्चालन, रोकिएन धनुषामा गिटी–बालुवा अवैध उत्खनन

खोज केन्द्र शुक्रबार, फाल्गुण ३०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

गिटी–बालुवाको अवैद्य उत्खननको विरोध गर्दा २५ पुसमा मिथिला नगरपालिका–५ का युवा दिलीप महतोको हत्या भयो । क्रसर व्यवसायीले टिपरले किचेर भएको हत्या घटनाको सर्वत्र विरोध भयो । विरोधपछि प्रदेश २ सरकारले सबै अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्न निर्देशन दियो ।

जिल्ला समन्वय समिति धनुषाले पनि अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्न पत्राचार ग¥यो । त्यति वेला केही समय धनुषाका अवैध क्रसर उद्योग बन्द पनि भए । तर, अहिले धनुषामा पुरानै ढंगले गिटी–बालुवाको अवैध उत्खनन भइरहेको छ ।

प्रहरी प्रशासन तथा स्थानीय तहका जनप्रतिनिधिको मिलेमतोमा जिल्लामा मापदण्डविपरीतका क्रसर तथा बालुवा प्रशोधन केन्द्र सञ्चालन भइरहेका छन् । 

धनुषाधाम नगरपालिका–६ मालटोलस्थित जलाधार खोलाबाट होलीको मौका छोपी दिनरात बालुवा–गिटी उत्खनन भइरहेको छ । धनुषाधाम–मंगलपुर बस्ने आनन्दप्रसाद साहले जलाधार खोलामा स्काभेटर प्रयोग गरी बालुवा–गिटी उत्खनन गर्ने गरेको स्थानीयले बताए ।

इलाका प्रहरी कार्यालय ढल्केबर र इलाका प्रहरी कार्यालय धारापानीका इन्चार्जलाई आर्थिक प्रभावमा पारी दैनिक सयौँ टिपरले अवैध रूपमा बालुवा–गिटी ओसार्दै आएका स्थानीयको भनाइ छ । 

आफूहरूले पटक–पटक विरोध गर्दा पनि खोलाबाट बालुवा–गिटीको अवैध उत्खनन नरोकिएको धनुषाधाम–६ का वडाध्यक्ष बन्दे लामाले बताए । ‘अवैध रूपमा हुने गरेको बालुवा–गिटी उत्खननको विरोधमा नगरप्रमुख बालकृष्ण मण्डलकहाँ हामी डेलिगेसन नै गएका थियौँ,’ वडाध्यक्ष लामाले भने, ‘तर पनि उहाँले हाम्रो मागको कुनै सुनुवाइ नै गर्नुभएन ।’ सम्पूर्ण गाउँलेले अवैध उत्खनन रोक्न आवाज उठाएपछि केही दिन उत्खनन नरोकिएको उनले बताए । ‘हामीले विरोध गर्दा एक–दुई दिन उत्खनन रोकिएको थियो,’ उनले भने, ‘तर, अहिले फेरि पुरानै अवस्थामा उत्खनन भइरहेको छ । यहाँ जनताको आवाज कसैले सुन्नेवाला छैन, यो सबै पैसाको खेल हो ।’

नवीकरण नगरी क्रसर सञ्चालन

घरेलु तथा साना उद्योग कार्यालय धनुषामा ११ वटा क्रसर उद्योग दर्ता भएका छन् । त्यसमध्ये बेंगाशिवपुरको सुभाष क्रसर, गोदार–३ को कमला स्टोन क्रसर, लबटोलीको कमलामाई क्रसर, क्षीरेश्वरनाथ महादेव क्रसर, घोरघासको जयमाता दी क्रसरलगायतको नवीकरण नभएको तीन वर्ष भइसकेको छ ।

तर, ती क्रसर उद्योग अहिले पनि सञ्चालनमै रहेका घरेलु तथा साना उद्योग कार्यालय धनुषाले जनाएको छ । नयाँ मापदण्डअनुसार नवीकरण नभएका मिथिला क्रसर एन्ड कंक्रिट उद्योग, साह गिटी उद्योग र कुमारी माँ गिटी उद्योग भने बन्द छन् । 

गणेशमान चारनाथ नगरपालिकाको तल्लो गोदारमा सञ्चालित कमला स्टोन क्रसरले वन निकुञ्ज, खोला, बस्तीबाट हुनुपर्ने दूरीको मापदण्ड पूरा गरेको छैन । उद्योग सञ्चालक महादेव महतोले मापदण्ड पूरा गर्नेतर्फ कुनै चासोसमेत देखाएका छैनन् । 

नवीकरण रोकेका  छौँ : कार्यालय प्रमुख

प्रदेश सरकारले तोकेको मापदण्ड पूरा नगर्ने उद्योगको नवीकरणमा रोक लगाएको घरेलु तथा साना उद्योग कार्यालय जनकपुरका प्रमुख सञ्जीवकुमार दुवेले बताए । दुवेले गरेको दाबीविपरीत धनुषामा नवीकरण नै नभएका क्रसर उद्योग निर्वाध रूपमा सञ्चालनमा छन् ।

‘हामीले नवीकरण रोकिदिएका छौँ, तर आन्तरिक राजस्व कार्यालय जनकपुरले उनीहरूबाट राजस्व बुझिरहेकाले नवीकरण गराउनेतर्फ चासो देखाएका छैनन्,’ दुवेले भने, ‘कम्पनी रजिस्टारको कार्यालय काठमाडौंमा दर्ता भएको भरमा राजस्व कार्यालयले अवैध क्रसरबाट राजस्व उठाइरहेको छ ।’

नवीकरण गर्ने वेलामा नयाँ मापदण्ड आएपछि क्रसर उद्योगहरू नवीकरण नभएका उनले बताए । ‘हामीले नवीकरण रोके पनि राजस्व कार्यालयले कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएकै भरमा अवैध क्रसरबाट राजस्व बुझिरहेको छ,’ उनले भने ।

तीनै तहका  सरकार निरीह 

क्रसर तथा बालुवा प्रशोधन उद्योगले स्थानीय नदी र खोलाबाट अवैध रूपमा बालुवा–गिटी उत्खनन गर्दा पनि तीनै तहका सरकार निरीह बनेका छन् । राजनीतिक दलका नेता कार्यकर्ता नै ठेकेदार छन् । उनीहरूले दर्ताविनै तथा नवीकरण नै नगराई लामो समयदेखि क्रसर उद्योग सञ्चालन गरिरहेका छन् । 

अवैध उत्खनन रोक्न र दोषीलाई कारबाही गर्न सरोकारवाला निकायले ठोस कदम चालेका छैनन् । जनताको गुनासो आउँदा केही दिन सरोकारवाला निकाय अनुगमनमा जाने गरेका छन् । त्यति वेला केही दिन उद्योग बन्द पनि हुन्छ । तर, केही दिनपछि पुनः पुरानै ढंगले अवैध उद्योग सञ्चालन हुने गरेका छन् ।

प्रदेश सरकारले क्रसर उद्योग स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि बनाएको छ । तर, प्रदेश सरकारले बनाएको कार्यविधिविपरीत क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र सञ्चालन भइरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]