About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
फाइल गायब पार्ने २२ जना कर्मचारीमाथि कारबाहीका लागि सिफारिस : मुख्य दोषी किटान गरेर मुद्दा दर्ता गर्न अख्तियारलाई सकस

निराजन पौडेल आइतबार, पौष ०६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका दोषीलाई मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का लागि अझै तीन साता लाग्ने भएको छ । प्रहरीको सीआईबीले छानबिन प्रक्रिया पूरा नगरेका कारण अझै समय लाग्ने भएको हो । सीआईबीले पनि बालुवाटार जग्गा हिनामिना प्रकरणमा झन्डै ६० जनासँग बयान लिइसकेको छ ।

सीआईबीको म्याद २८ मंसिर २०७६ देखि लागू हुनेगरी २८ पुससम्मका लागि एक महिना थपिएको छ । तेस्रोपटक थपिएको म्याद गत २८ मंसिरमा सकिएको थियो ।

सीआईबीलाई ठगी आरोपमा सजाय माग गर्दै दोषीमाथि जिल्ला अदालतमा भिन्नै मुद्दा चलाउने अधिकार छ । सीआईबीले अनुसन्धान पूरा गरेर अब अर्को महिना मात्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्न सक्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने ललिता निवास जग्गा प्रकरणको विषयमा आफ्नो छानबिन पूरा गरिसकेको छ । अख्तियारका एक अधिकारीका अनुसार मुद्दा चलाउने विषयमा आयोगमा छलफल भइरहेको छ । अझै केही समय छानबिन भइरहेकाले फाइल अध्ययन गरेर मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी रहेको ती अधिकारीले बताए । तर, ककसलाई मुद्दा चलाउने भन्ने विषयमा आयोग अझै अलमलमा छ ।

अख्तियारले भने आफ्नो छानबिन पूरा गरेकाले त्यसलाई मूर्तरूप दिने अन्तिम तयारी गरिरहेको छ । करिब ६ महिनाको लामो अनुसन्धानपछि अख्तियारले मुद्दा दर्ताको तयारीलाई अन्तिम चरणमा पु¥याएको हो । आयोगलाई सरकारले छानबिनका लागि तीनपटकसम्म म्याद थप गरेको थियो ।

६ महिनाको अवधिमा अख्तियारले पत्रपत्रिकामा सूचना निकालेर सरकारी जग्गा किनबेच गर्नेको नाम सार्वजनिक गर्दै अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको थियो । तर, सीआईबीले भने सूक्ष्म अनुसन्धान गर्नुपर्ने भन्दै समय लाग्ने बताएपछि सरकारले पछिल्लो समय एक महिनाका लागि म्याद थप गरेको थियो ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनलाई आधार मानेर अख्तियार र सीआईबीले एकसाथ छानबिन थालेको थियो । समरजंग कम्पनीको स्वामित्वमा रहेको जग्गासमेत सरकारका नाममा कायम गराउने भन्दै बीचमा मोहीलाई घुसाइएको निष्कर्ष समितिको छ । मोहीका नाममा मालपोत र भूमिसुधारबाट नक्कली कागजात तयार गरिएको पाइएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा बनाउनेमा मुख्य दोषी कसलाई किटान गर्ने भन्ने विषयमा अख्तियारमा छलफल भइरहेको स्रोतले जनायो । राजनीतिक दलका नेताहरूसमेत यो प्रकरणमा जोडिएकाले मुद्दा दर्ता प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा अख्तियारले पटकपटक आन्तरिक छलफल गरिरहेको स्रोतले जनायो ।
सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमुख्यसचिव लीलामणि पौडेल, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिवहरू दीप बस्न्यात, छविराज पन्त, पूर्वमन्त्री डम्बर श्रेष्ठ, गृह मन्त्रालयका तत्कालीन सहसचिव, हालका निर्वाचन आयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी, जग्गा कारोबारी शोभाकान्त ढकाल, रामकुमार सुवेदीलगायतसँग अख्तियारले बयान लिइसकेको छ । अख्तियारले तीनपटक सार्वजनिक सूचना जारी गरेर ९४ जनालाई बयानका लागि बोलाएको थियो ।

दुईवटा सरकारले नीतिगत रूपमा यो विषयमा निर्णय गरेकाले मुद्दा दर्ता प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा अख्तियार सकसमा छ । जग्गा हडप्न मुख्यतः दुई जना व्यक्तिले भूमिका खेलेको पूर्वसचिव त्रितालको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिसकेको छ ।

‘भूमाफिया’ भनेर समितिले किटानी साथ नाम उल्लेख गरेका व्यक्ति अधिवक्ता रामकुमार सुवेदी र डा. शोभाकान्त ढकाल हुन् । सोही प्रतिवेदनको आधारमा मुद्दा दर्ता गर्ने कि नीतिगत निर्णय गर्नेलाई पनि अनुसन्धान गर्ने भन्ने विषयमा अख्तियारले ठोस निर्णय लिन नसकेको स्रोतले जनायो । त्रिताल समितिले मन्त्रिपरिषद्को सो निर्णय कानुनविपरीत भएकाले खारेज गर्नुपर्ने बताएको छ । समितिले मन्त्रिपरिषद्को निर्णय नै त्रुटिपूर्ण र कानुनविपरीत भनेको अवस्थामा छानबिनको दायरामा ल्याउने कि नल्याउने भन्ने प्रश्न अख्तियारमा उठेको छ ।

भ्रष्टाचार निवारण ऐनको दफा १७ बमोजिम कसुरदारमाथि मुद्दा चल्न सक्छ । सो दफाअनुसार सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्नेलाई सजाय किटान छ । नेपाल सरकार वा सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बदनियत गरी हिनामिना, हानिनोक्सानी वा दुरूपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा निजलाई कसुरको मात्राअनुसार न्यूनतम तीन महिनादेखि १० वर्षसम्म कैदको व्यवस्था छ ।

यस्तै हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरेको वा मासेको वा मास्न दिएको सम्पत्तिसमेत निजबाट असुलउपर गरिने भनिएको छ । निर्णयमा संलग्न सार्वजनिक पदाधिकारीलाई दफा २४ अनुरूप थप तीन वर्ष कैद हुने भनिएको छ । मतियारको भूमिका खेल्नेलाई पनि सजायको व्यवस्था छ । मुद्दा दायर हुने अवस्थामा सार्वजनिक पदाधिकारीलाई भ्रष्टाचार निवारण ऐनको विशेष व्यवस्थाअनुरूप थप सजाय मागसहित आरोपपत्र पेस हुनेछ ।

ललिता निवासको जग्गा हिनामिनामा निधन भइसकेका दुई पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासहित माधवकुमार नेपाल र बाबुराम भट्टराई नेतृत्वका मन्त्रिपरिषद् निर्णय प्रमुख कारण रहेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । तत्कालीन मन्त्रिपरिषद्का विवादास्पद सबै निर्णय खारेज गरेर ललिता निवास सरकारकै नाममा फिर्ता ल्याउन पनि समितिले सिफारिस गरिसकेको छ ।

त्रिताल आयोगले डिल्लीबजार मालपोतका तत्कालीन मालपोत अधिकृत कलाधर देउवालगायत फाइल पेस गर्ने, राय लेख्ने तथा पछि फाइल गायब पार्ने २२ जना कर्मचारीमाथि कारबाहीका लागि सिफारिस गरिएको छ ।

११ असारमा ८६ जनालाई बयानका लागि बोलाइएकोमा १२ असारमा मालपोत कार्यालय डिल्लीबजार मालपोत अधिकृत हुपेन्द्रमणि केसी, भूमाफिया रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई बोलाइएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]