नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल रिटायर्ड जीवनमा भ्रष्टाचारविरोधी अभियान प्रारम्भ गर्ने तयारीमा छन् ।
२ वर्षअघि डिआइजी पदबाट राजीनामा दिएका उनी केही भ्रष्टाचार विरोधी अभियानमा यसअघि नै संलग्न थिए।
बिहीबार काठमाडौंमा ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गरेर संगठित अभियान सुरु गर्ने तयारीमा रहेका उनीसँग अभियानबारे कुराकानी।
नयाँ अभियान घोषणा गर्दै हुनुहुन्छ कस्तो अभियान हो?
यो भ्रष्टाचार, विकृति र विसंगतीविरुद्धको नागरिक अभियान हो। अहिले देशमा जे जस्ता समस्याहरु देखिएका छन् त्यसको समाधानका लागि नागरिकतहबाट दबाबको अभाव देखिएकाले शान्तिपूर्णरुपमा दबाब दिने प्रयास हो।
कुनै क्षेत्र लक्षित छ कि सबैतिरका समस्या उठाउने हो?
यही क्षेत्र भन्ने छैन। राजनीतिक, सामाजिक, सुरक्षा, प्रशासन सबै क्षेत्रमा भएका बदमासीविरुद्ध आवाज उठाउने हो।
संगठन बनिसकेको छ कि प्रारम्भिक चरणमा हो?
अहिले त्यस्तो संगठन नै बनाइसकेका छैनौं। उद्देश्यमा सहमत र हिजोका दिनमा कुनै न कुनै रुपमा भ्रष्टाचार र विकृतिविरुद्ध आवाज उठाउनेहरु एक ठाउँमा भएका छौं। संगठन बिस्तारै बनाउँदै जाने हो।
संगठनको प्रकृया?
हाम्रो मुद्धामा जो जो सहमत हुनुहुन्छ उहाँहरुलाई समेट्दै जाने हो। भोली अभियान घोषणा भएपछि ६ महिनासम्म विभिन्न जिल्लामा भ्रष्टाचार र विकृतिविरुद्ध अभियान सञ्चालनको तयारीमा छौं। जिल्लाहरुमा गएर खबरदारी गर्नेछौं। जो जो सहमत हुनुहुन्छ उहाँहरु बिस्तारै अभियानमा सहभागी हुनुहुने आशा छ।
भ्रष्टाचारविरोधी अभियान भनिएका कतिपय अभियन्ताका गतिविधी राजनीति प्रेरित र अराजक पनि देखिन्छ। त्यस्तै हुने त होइन तपाइहरुको अभियान पनि?
हामी राजनीति प्रेरित होइनाैं। अभियानको मोडालिटी शान्तीपूर्ण हुन्छ। हिजो शान्ती सुरक्षा कायम गराउन सक्रिय भएको व्यक्ति हुँ। कानुनबाहिर गएर काम गर्ने त कल्पनै नगरे हुन्छ।
संगठनको प्रकृति कस्तो छ? अध्यक्ष, उपाध्यक्ष भन्ने प्रकृतिको हो या एकल नेतृत्व?
अहिलेका लागि संयोजकमात्र राख्ने तयारी गरेका छौं। आवश्यकताअनुसार पछि संगठनको मोडल परिर्वतन हुनसक्छ।
संयोजक तपाई नै हो ?
हो।
सामान्य रुपमा सार्वजनिक भएका भ्रष्टाचार र बदमासीका घटनाको सत्यतथ्यका लागि दबाबमात्रै दिने हो कि अभियानले आफैं एक्सपोज पनि गर्छ?
जुन घटना सार्वजनिक हुन्छ त्यसको निष्पक्ष छानबिनका लागि दबाब बढाउने काम गर्छौं। अहिले ७० करोडको कुरा आएको छ। तर यसको छानबिनमा नागरिकले शंका गरिरहेका छन्। यस्तोमा नागरिक दबाब प्रभावकारी हुन्छ। यस्ता घटनाको निष्पक्ष अनुसन्धानमा दबाब बढाउँछाैं। सँगै हामी भ्रष्टाचार र बदमासीका घटना आफैं एक्सपोज पनि गर्छौं।