नेपाल–अंग्रेज युद्धसित सम्बन्धित रहेको रौतहटको गढीमाई नपा १ समनपुरमा लाग्दै आएको मेला कोरोनाभाइरसका कारण प्रभावित भएको छ।
सन् १८१४–१६ मा नेपाल–अंग्रेजबीच भएको युद्धमा स्थानीय समनपुरबासीले अंग्रेजलाई धपाएको र धेरै हातहतियार खोसेको हेर्न विभिन्न गाउँ र जिल्लाबाट सर्वसाधारण त्यहाँ पुगेकाले करीब दुई महीनासम्म मेला लागेको थियो ।
ऐतिहासिक मेलाले निरन्तरता पाउँदै गयो । कालान्तरमा दुई हप्तामा सीमित हुँदै र पछि फागुपूर्णिमाको दिन एकदिनमा मेला सीमित हुँदै आएको थियो । तर, यसपालि कोरोनाभाइरस संक्रमणको डरले समनपुर मेला प्रभावित भएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटले कुनै औपचारिक कार्यक्रम नगर्न निर्देशन दिएको र नगरपालिकाले पनि नेपाल–अंग्रेज लडाइँको २०५औँ विजयोत्सवको अवसरमा कुनै किसिमको औपचारिक कार्यक्रम नराख्ने निर्णय गरेकाले मेला प्रभावित भएको मेयर श्यामप्रसाद यादवले बताएका छन् ।
गत वर्ष नेपाली सेनाको सहयोगमा नगरपालिकाले भव्य कार्यक्रम आयोजन गरी मेलालाई औपचारिक बनाएको थियो । यस वर्ष फागु मेलामा कुनै सरकारी निकायको औपचारिक संलग्नता नरहे पनि किनबेच गर्नेको चाहिं घुइँचो लागेको छ ।
सर्लाही र रौतहटका विभिन्न गाउँबाट हजारौं पसले तथा विभिन्न खेलतमासा मेलामा पुगेका छन् । होलीका सरसामान किन्नेहरू र मेलाका दर्शकहरूको खासै कमी नभएको एकजना फर्निचर व्यवसायी रामअयोध्या ठाकुरले जानकारी गराएका छन् ।
मेलामा होलीका लागि अत्यावश्यक सरसामान किन्नुपर्ने भएकाले मेलामा आउनेहरूको संख्यामा खासै कमी नआएको हुनसक्ने मेयर यादवको भनाइ छ ।