काठमाडौँ । नेपाल प्रहरीमा लेखा अधिकृत र लेखापालको जागिर अत्यन्तै आकर्षक मानिन्छ । विगतमा टिएडिए, रासन र तलबको रकम बैंकिङ प्रणालीमा नजाँदा त लेखापालको जागिर भन्सारको जागिरका रूपमा हेरिने गर्दथ्यो । अहिले त्यो अवस्था नरहे पनि अन्य बजेटहरू मिलाएर खाने प्रवृत्ति र त्यसवापत अतिरिक्त आम्दानी हुने भएका कारणका साथै सोही दर्जाका अन्य प्रहरीले जस्तो नियमित ड्युटी गर्न नपर्ने भएका कारण पनि लेखापालको जागिर अति आकर्षक मानिन्छ ।
पहिले त लेखापालको तालिम गर्नका लागि नै ठूलो प्रतिस्पर्धा, सोर्सफोर्स र आर्थिक लेनदेनसमेत हुने गरेका कुराहरू सार्वजनिक भइरहन्छन् । सर्वेन्द्र खनाल आइजिपीबाट अवकाश हुनु केही दिनअघि लेखापालका लागि तालिम गर्नेहरूको नामावली छनौट भई अन्तिम निर्णय भयो । ती नामावली हेर्दा लाग्छ अब प्रहरीमा लेखाको तालिम गर्न या लेखापाल हुन कि त पिएसओ बस्नुपर्ने हुन्छ कि लेखा, आलेप, प्रबन्धजस्ता ठाउँमा बस्नुपर्ने हुन्छ अन्यले लेखाको तालिम गर्न पनि मुस्किल छ ।
प्रहरी मुख्यालयले लेखा तालिमका लागि ३० जनाको नाम प्रकाशित ग¥यो । यी ३० मध्ये २० जना त पिएसओमात्र छन् । गृहसचिव भएर प्रहरीमा एकछत्र राज गरेका, प्रहरीको नीति–नियमलाई धोती लगाई आफूले दिएको निर्देशन गर्नैपर्ने बाध्यकारी बनाएर प्रहरी नेतृत्वलाई निरीह बनाई बदनामी कमाएका प्रेमकुमार राईको पिएसओ बसेका सनम राई लेखाको तालिम गर्ने शक्तिशाली पिएसओ हुन् ।
निजकी श्रीमती निरु सुवेदी यसअघि नै लेखा तालिम गरी पहिलो पटक सिंहदरबारस्थित प्रहरी गणमा लेखापालको रूपमा प्रवेश गरेकी थिइन् । उनी लेखापालमा प्रवेश त गरिन् तर अतिरिक्त आम्दानी नहुने ठाउँ भएपछि लेखापालहरूका लागि सबैभन्दा आकर्षकको ठाउँमध्ये पर्ने बढी बजेट भएको र नक्कली बिल भौचर बनाई खाने ठाउँका रूपमा चिनिएको महानगरीय प्रहरी ट्राफिक महाशाखामा दुई महिनामा नै सरुवा भइन् । यसरी सरुवा हुनुको पछाडि उनका श्रीमान् सनम राई गृहसचिव प्रेमकुमार राईको पिएसओमात्रै नभएर नातेदार भएर पनि हो भन्ने कुरा प्रहरीमा सबैलाई थाहा छ ।
सचिव राईले आफू अवकाश हुने बेलामा आफ्ना पिएसओ सनम राईलाई त्यस्तै दबाब दिएर लेखा तालिममा हाल्न सफल भए । लेखा तालिम सकेपछि आउँदो साउनबाट नै सायद सनम राई कुनै राम्रो जिल्लाको लेखापालका रूपमा जाने कुरा अहिले नै प्रहरीभित्र चर्चाको विषय बनेको छ । त्यसैगरी अर्थमन्त्री युवराज खतिवडाका पिएसओ पनि अहिले लेखा तालिममा सहभागी छन् । उनको नाम हो– समर गुरुङ । त्यसैगरी महालेखा परीक्षकको पिएसओ पनि लेखा तालिममा परेका छन्, उनको नाम हो– असयाल महतो । यी त प्रतिनिधि दृष्टान्तमात्र हुन् ।
३० जना लेखा तालिम गर्नेहरूमध्ये २० जना पिएसओ मात्रै परेका घटनाले प्रहरीमा पिएसओहरूको आतंक छ भन्ने कुरालाई पुष्टि गर्दछ । पिएसओ बस्ने, नेताको दबाब दिएर तस्करी र भ्रष्टाचार गर्न पाइने पोष्टमा काज वा सरुवा जाने, फेरि पिएसओमा आउने फेरि त्यस्तै ठाउँमा जाने एकथरि छन् भने एकथरि लेखापालको तालिम गरी लेखापालमा छिर्ने र कमाउने धुनमा छन् भन्ने कुरा यो घटनाले पनि देखाउँछ ।
यसबाहेक तालिममा सहभागी भएका केही असईहरू पनि पिएसओ र लेखा, प्रबन्ध र आलेपका रहेका छन् । लेखापालहरूको तालिम हरिहर भवनस्थित राजस्व प्रशासन तालिम केन्द्रमा चलिरहेको छ ।