About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
महिलाहरुमा शीर्ष तहमा किन पुग्दैन !

खोज केन्द्र आइतबार, फाल्गुण २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

फागुन  २५, काठमाडौं । हरेक कम्पनी, क्षेत्र वा पेशामा तल्लो तहमा काम गर्ने महिलाको संख्या धेरै छ । तर जति– जति माथि उक्लिँदै गयो उति– उति उनीहरुको उपस्थिति पातलो छ । हामीकहाँ मात्रै होइन विश्वभर यस्तो प्रवृत्ति छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कुर्सीसम्म आइपुग्ने महिलाको संख्या औंलामा गन्न सकिने मात्रै छन् ।

अमेरिकी बहुराष्ट्रिय व्यावसायीक पत्रिका फोर्च्युनको सूचीमा परेका विश्वका ५०० ठूला कम्पनीमा गत वर्ष महिला सीईओको संख्या जम्मा ३३ थियो । यद्यपि अघिल्लो वर्षको तुलनामा भने यो राम्रै हो । पुरुष सीईओको अनुपातमा यो ६ दशमलव ६ प्रतिशत हो ।

महिलाहरुमा शीर्ष तहमा पुग्ने महत्त्वाकांक्षा नै नहुने भएकोले यस्तो भएको हो त ? पक्कै पनि होइन । अमेरिकी टिभी च्यानल सीएनबीसी र बजार अनुसन्धाता संस्था सर्भे मंकीले गरेको ‘कार्यस्थलमा महिला’ शीर्षकको सर्वेक्षणअनुसार भने यस्तो धारणा सरासर गलत हो ।

सर्वेक्षणमा सहभागी १ हजार ६८ अमेरिकी कामकाजी महिलामध्ये ५४ प्रतिशतले करियरको मामिलामा आफू निकै महत्वकांक्षी रहेको बताएका थिए । अलि –अलि महत्त्वाकांक्षी बताउनेको संख्या पनि ३५ प्रतिशत थियो भने ३ प्रतिशतले मात्रै आफूमा त्यस्तो कुनै आकांक्षा नरहेको बताएका थिए ।

‘१० वर्षमा जागिरमा कुन तहमा पुग्ने अपेक्षा गरेका छौं ?’ भनेर सोधिएको प्रश्नमा १८ देखि ४४ वर्ष उमेर समूहका १५ प्रतिशत महिलाले सीईओ भन्ने जवाफ दिएका थिए ।

अमेरिकी शेयर परिसूचक एसएण्डपी ५०० मा समावेश भएका मध्ये ६ प्रतिशत कम्पनीमा मात्रै महिला सीईओ छन् । यो आँकडा निकै निराशाजनक हो । वरिष्ठ नेतृत्व तहमा विविधिकरण निकै सुस्त छ । यसले महिलाको तुलनामा पुरुषलाई महत्व दिने अनेक सुक्ष्म तरिका छन् भन्ने संकेत गरेको ब्रिटिश बैंकर्स एशोसियशनकी अध्यक्ष नुरिन डोयल बताउँछिन् ।

शीर्ष तहमा विविधिकरण ल्याउने मुद्दा भन्दा पनि महिला प्रतिभालाई टिकाइराख्नु अनि प्रवर्द्धन गर्नु अहिले महत्वपूर्ण भएको उनको भनाइ छ ।

पछिल्लो समय स्नातक वा स्नातकोत्तर तहको पढाइ पूरा गर्ने कुल विद्यार्थीमा महिलाको संख्या आधा भन्दा धेरै छ । श्रम बजारमा योग्य महिलाको अभाव पनि छैन । तर पनि शीर्ष पद उनीहरुको लागि आकाशको फल बनेको छ । तर किन ???

अचेतन पूर्वाग्रह

न्यूमोन्ट माइनिङ कर्पोरेशनको अध्यक्ष बन्नु पूर्व डोयलले ४० वर्षभन्दा लामो समय वित्त क्षेत्रमा काम गरेकी थिइन् । सन् २००१ देखि सन् २००५ को बीचमा उनी पुनरसंरचना तथा विकासका लागि यूरोपेली बैंक (ईआरबीडी) मा पहिलो महिला उपाध्यक्ष समेत भइन् ।

लैंगिक विभेदकै कारण महिलाहरू करियरमा अगाडि बढ्न नसकेको कयौं उदाहरण आफूले यही बेला देखेको डोयल बताउँछिन् । कतिपय अवस्थामा अयोग्य नै भएपनि पदोन्नतिको मामिलामा पुरुषलाई रोज्न खोजिएको दृष्टान्त उनी सम्झिन्छिन् ।

हरेक १०० पुरुषलाई व्यवस्थापक पदमा पदोन्नति वा भर्ती गरिँदा ७२ जना महिलालाई मात्रै यस्तो अवसर मिल्ने गैर–नाफामुलक संस्था लिन इन र बजार अनुसन्धाता संस्था म्याकिन्से एण्ड कम्पनीले गत वर्ष गरेको ‘कार्यस्थलमा महिला’ नामक सर्वेक्षणले देखाएको छ ।

रंगभेदको चपेटामा महिलाहरु बढी पर्ने गरेको समेत सो सर्वेक्षणले छर्लंग पारेको छ । महिलाहरु शीर्ष पदमा नपुग्नुको सबैभन्दा स्पष्ट कारण कर्मचारी भर्ती र पदोन्नतिमा देखिने पूर्वाग्रह भएको लिन इनकी सह–संस्थापक तथा सीईओ र्‍याचेल थोमस बताउँछिन् ।

‘पुरुषहरुलाई उनीहरुले गर्न सक्छन् भन्ने विश्वासमा भर्ती गरिन्छ, तर महिलालाई भने उनीहरुले प्रमाणित गरेर देखाएपछि मात्रै भर्ती र पदोन्नति गरिन्छ,’ थोमसले भनिन् ।

कम्पनीहरूले लैंगिक विभेदको यो प्रवृत्तिलाई वेवास्ता गर्ने हो भने नेतृत्व तहको वरियतामा पुरुषको संख्या यसै गरी धेरै हुने उनको भनाइ छ ।

मार्गदर्शन र प्रायोजनको अभाव

हरेक क्षेत्रमा काम गर्न मार्गदर्शन चाहिन्छ । शुरुआती समयमा राम्रो मार्गदर्शन नपाएको भए डोयल पनि अहिलेको स्तरमा आउन सक्दिनथिन् । सन् १९७४ मा टक स्कुल अफ विजनेशबाट स्नातक तह उत्तिर्ण गरेपछि डोयलले बैंकर्स ट्रष्टमा काम गर्न थालिन् । त्यहाँ कार्यरत समयमा डायलको हाकिमले उनको मार्गदर्शकका रुपमा काम गरे ।

संगठनको रणनीति र राजनीति बुझ्ने मामिलामा तिनी निकै सहयोगी रहेको डोयल बताउँछिन् । डोयलका अनुसार यही बुझाइले संगठनमा विस्तारै आफ्नो पदोन्नति सम्भव भएको हो । यही मार्गदर्शन बैंकर्स ट्रष्टमा १८ वर्षे करियर र ईबीआरडीको उपाध्यक्ष बन्न उपयोगी साबित भयो । तर सबै महिलाहरुले उनको जस्तो अवसर र टेवा पाउँदैनन् ।

अमेरिकी कर्पोरेट जगतमा वरिष्ठ तहबाट सुझाव सल्लाह पाउने पुरुषको तुलनामा महिलाको संख्या २४ प्रतिशत कम रहेको लिन इन र सर्भी मंकीको अध्ययनले देखाएको छ । दुःखको कुरा ‘मि टू’ अभियानपछि त झन महिलालाई मार्गदर्शन दिने, आमुन्ने सामुन्ने भेट्ने, सामाजिक कार्यक्रमहरुमा जान हिच्किचाउने पुरुष व्यवस्थापकको संख्या बढेको सर्वेक्षणहरुले देखाएका छन् ।

यसको असर  मार्गदर्शन र प्रायोजन पाउने महिलाको संख्यामा देखिएको छ । महिलाहरुले प्रयोजन र मार्गदर्शनको अवसर नपाएपछि उच्च तहको काममा सिफारिस हुने सम्भावना पनि कम छ अनि व्यक्तित्व विकास र पदोन्नतिका अवसरमा महिलाहरु पछाडि पर्छन् भन्छिन् गैर–नाफामुलक संस्था क्याटलिष्ट इंककी उपाध्यक्ष सेरेना फङ ।

यस्तो अवस्थामा महिलाहरूले कार्यालयमा ‘परित्याग गरिएको’ वा ‘अर्को’ महसुस त गर्छन् नै महत्वकांक्षा नै त्याग्छन् । कम उमेर समूहमा निकै महत्वकांक्षी बताउनेको संख्या धेरै भएपनि उमेर समूह बढ्दै गएसँगै महत्वकांक्षीको संख्या घटनुको कारण पनि यही हो ।

अवसर मात्रै होइन तलब र पारिश्रमीकको मामिलामा पनि महिलाहरू पुरुष भन्दा निकै पछाडि छन् । उही काममा महिलाको तुलनामा पुरुषले बढी तलब पाउँछन् ।

हलिउडदेखि बलिउडसम्म र वित्त देखि प्रविधि कम्पनीसम्म पनि यही प्रवृत्ति व्याप्त छ । बालबालिक हुर्काउँदै, घर व्यवहार मिलाउँदै काममा प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता, घर र कार्यालयबीच सन्तुलन कायम गर्ने सकस अनि कार्यास्थलमा महिला मार्गदर्शकको अभाव यी सबै तत्वले पनि महिलाहरुको समस्या बढाएको छ ।

यो समस्यालाई सम्बोधन गर्न कम्पनीले विशेष खालको योजना ल्याउन आवश्यक छ । महिला कर्मचारीलाई हौसला दिन र करियरमा टेवा दिन कम्पनीहरुले पनि पूर्वाग्रह हटाउने खालका तालिमको व्यवस्था गर्नुपर्छ ।

निष्पक्ष भएर महिला कर्मचारीलाई भर्ती गर्ने अनि प्रवर्द्धन गर्ने मात्रै होइन प्रयोजन एवम् मार्गदर्शनमा महिलालाई समान पहुँच दिनु पर्छ । महिला कर्मचारीले तलबी बिदाको सहजतापूर्वक लाभ उठाउन सक्ने अनि लचिलो कार्य समय दिने वातावरण पनि सृजना हुनु पर्छ । उनीहरुले उत्कृष्ट प्रर्दशनको अवसर दिने खालका नीति र अभ्यास ल्याउनु पर्छ । (एजेन्सीको सहयोगमा)

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]