About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
नेपालमा सांस्कृतिक बहुदलबाद र प्रदेस २ !

खोज केन्द्र शुक्रबार, फाल्गुण २३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ जानकी प्रदेशमा मिथिला संस्कृति र सभ्यता झल्कने गरी घरआँगन, भित्ता झ्यालढोका बाटोघाटो, चोकचौतारा बनाएर मौलिकता दिन सकियो भने विश्वमा अनुपम नमुनाको सहर बन्ने निर्विवाद छ । सांस्कृतिक मौलिकता, सभ्यता र सम्पदा जोगाउने गरि काठमाडौंलगायत कतै पनि विकास हुन सकेको छैन ।

सांस्कृतिक सम्पदाको संरक्षण, विकास र विस्तार राजनीतिक, आर्थिक तथा सामाजिक मुद्दाका रूपमा उठेको छ । प्रकृतिले हाम्रो देशलाई यसरी बाँडेको छ कि हाम्रा प्रत्येक हिमचुचुरा, बेंसी, पहाड, उपत्यका र समथरमा बेग्लाबेग्लै खालको बसोबास, खेतीपाती, रहनसहन, भाषाभाषी, चाडबाड र खानपान हुर्र्किएको छ । भौगोलिक विविधताका साथै सांस्कृतिक विविधता देशको अनुपम सम्पदा बनेको छ ।

विकास र बसोवासको नियमअनुसार सबै जातजाति देशभर सूक्ष्म रूपमा छरिएर रहेका छन् । मिश्रित समाज विकास हुँदै गएकाले कुनै पनि जिल्ला र क्षेत्रमा एउटै जातजातिको बाहुल्यता र संस्कृतिको बोलवाला छैन् ।

प्रत्येक हिमचुचुरा, बेंसी, पहाड, उपत्यका र समथर तराई भूभागमा बेग्लै खेतीपाती, रहनसहन, भाषाभाषी, चाडबाड, खानपानजस्ता सांस्कृतिक विविधता विकास भएका र अटल बनेका बनेका छन् । संस्कृति व्यक्ति र समुदायको पहिचान बनेर रहेको छ । देशमा बोलिने सबै भाषा र मनाइने संस्कृति नेपाली संस्कृतिका रूपमा स्थापित छन् । संस्कृति, भाषाभाषी संगीत तथा कलासाहित्य अमूल्य निधि हुन् ।

ऐतिहासिककालदेखि रहिआएको धार्मिक सहिष्णुता हाम्रो अनुकरणीय सम्पदा हो । आधुनिकता, पश्चिमी सभ्यताको प्रकोप, सूचना सञ्चार प्रविधिको विकास र परम्परागत सभ्यता र पेसाप्रतिको वितृष्णाले सांस्कृतिक संरक्षण र संवद्र्धन चुनौती बनेको छ ।

प्रत्येक सामाजिक समूहको आफ्नो पहिचान र व्यक्तित्व हुन्छ । आफ्नै रहनसहन, खानपान, संस्कृति, भाषा, साहित्य र भौगोलिक क्षेत्रसमेत हुन्छ । मानिस आफ्नो संस्कृतिबाट भिन्न वा अलग भएर रहन सक्दैन । विदेशमा पुगेका नेपाली नेपाली संस्कृतिप्रति भुतुक्क हुने, मिलेर मनाउने र रमाउने गर्छन् । यसैले भन्न सकिन्छ संस्कृति मानवीय सभ्यताको परिचय हो र मानिस बाँच्ने र बाँचिरहने आधारशिला पनि हो ।

सांस्कृतिक बहुलता भनेको समाजमा धेरै संस्कृतिको उपस्थिति, सबै संस्कृतिप्रतिको समान सम्मान र सबै संस्कृतिको समान संरक्षण र विकास गर्ने सिद्धान्त, मान्यता, विचार, संस्कार र व्यवहार सांस्कृतिक बहुलवाद हो ।

सांस्कृतिक बहुलवाद बहुसांस्कृतिक समाजमा सबै संस्कृतिको समान संरक्षण र विकासको वकालत गर्ने एक सिद्धान्त हो, जसले संस्कृतिलाई राष्ट्रिय सम्पदा, राष्ट्रिय पहिचान र राष्ट्रिय एकताको बलियो आधार मान्दछ । सांस्कृतिक बहुलवादले आफ्नो संस्कृति मात्रै सर्वोत्तम हो भन्ने भावनाभन्दा सबै सांस्कृतिक मूल्य र सांस्कृतिक विविधतालाई महŒव दिन्छ ।

सबै भाषा, कलासंस्कृति र साहित्यको समान ढंगले संरक्षण र विकास गर्ने मनसाय र कर्मलाई जोड दिन्छ । सबै संस्कृतिबीच समानता, अन्तरनिर्भरता र सहअस्तित्वको आधारमा आपसीसम्बन्ध विकास गर्न सकिन्छ भन्ने विश्वास गर्छ । यसर्थ सांस्कृतिक बहुलबाद सांस्कृतिक समूहको अस्तित्व र सहअस्तित्वको आधारशिला हो ।

सांस्कृतिक बहुलवादका केही आफ्नै मान्यता छन् । प्रजातन्त्र, सांस्कृतिक सहनशलिता, सामाजिक समानता, सार्वभौमसत्ता, व्यक्ति र समूह अधिकारको प्रत्याभूति तथा सांस्कृतिक अन्धवादको अनुपस्थिति सांस्कृतिक बहुलवादका मान्यता हुन् ।

प्रजातान्त्रिक शासन प्रणालीमा मात्र विविधताको सम्मान, संरक्षण र विकास गर्ने अवसर प्राप्त हुन्छ । प्रत्येक व्यक्ति र समुदायसँग आफ्नो संस्कृतिसँगै अर्को समुदायको संस्कृतिको समान विकासलाई आत्मसात् गर्ने सहनशील भावना र
क्षमता हुनुपर्छ ।

बहुसांस्कृतिक समाजमा सबै संस्कृतिका लागि समानताको आधारमा समान संरक्षण र विकासको अवसर प्राप्त हुने गरी सामाजिक सांस्कृतिक समानताको प्रत्याभूति गरिएको हुन्छ । सिद्धान्ततः प्रत्येक संस्कृति आफ्नो संस्कृतिको विकास गर्न सार्वभौम हुन्छ ।

अर्थात, आफ्नो संस्कृतिको विषयमा निर्णय लिने सार्वभौम अधिकार सम्बन्धित व्यक्ति समुदायलाई मात्र हुन्छ । प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो संस्कृतिको संरक्षण, विकास र अवलम्बन गर्ने व्यक्ति र समूह अधिकार सुरक्षित हुनुपर्छ । आफ्नो संस्कृति मात्रै ठीक र अरूको संस्कति बेठिक भन्ने सांस्कृतिक अन्धवादको सोचाइ पूर्णरूपमा शून्य हुनुपर्छ ।

नेपाली समाज धेरै जातीय समुदाय र सांस्कृतिक विविधताको जालो हो । एकात्मक शासन प्रणालीमा देश धर्मसापेक्ष अर्थात हिन्दू राज्यका रूपमा स्थापित थियो । समाज र देशका आर्थिक, सामाजिक राजनीतिक नीति कानुन र व्यवहार सांस्कृति समानता कायम गर्नेतर्फ केन्द्रित थिएनन् । बहुसांस्कृतिक समाजको यथार्थतालाई स्वीकार गरे पनि संस्कृतिहरूको समान विकासमा राज्य उदासीन भएकाले समाजमा असन्तोष, असमानता बढेको, प्राकृतिक वातावरण विनास भएको र समाजमा द्वन्द्व तथा हिंसा फसेको दृश्य वर्तमान पुस्ताले प्रत्यक्ष अनुभव गरेको छ ।

संस्कृति राष्ट्रराज्यको पहिचान मात्र नभएर देशको अनुपम सम्पदा पनि हो । संस्कृतिले राष्ट्रियतालाई चिनाउँछ । सांस्कृतिक पहिचान र सम्पदाको जर्गेनाले राष्ट्रको शिर उँचो हुन्छ । तापनि सांस्कृतिक बहुलवादका केही बाधा समाजमा उपस्थित रहेको पाइन्छ ।

राज्यले एउटा संस्कृति, एउटा भाषा, एउटा भेष, एउटा धर्मलाई प्राथमिकता दिनु, समूह अधिकारको अपर्याप्तता, शासक र बहुसंख्यकले मान्ने संस्कृतिको दबदबा सांस्कृतिक साम्राज्यवाद र बहुसंख्यकले मान्ने संस्कृतिमा अन्य जेजस्तो संस्कृति भए पनि प्रमुख संस्कृतिअनुरूप परिवर्तन हुने सिद्धान्त र सोअनुरूप अन्य संस्कृतिमाथि गरिने व्यवहार प्रमुख बाधाका रूपमा रहेको पाइन्छ ।

सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धधन गर्नु राज्यको कर्तव्य हो । सरकार देशमा प्रचलित सबै संस्कृतिको अभिभावक हो ।

देशका प्रचलित संस्कृतिको सांस्कृतिक नक्सांकन, सांस्कृतिक आमलेखीकरण, सांस्कृतिक सचेतना, सांस्कृतिक संरक्षण, भाषिक शब्दकोषको निर्माण र सांस्कृतिक विकासको कमी, एकात्मक राज्यढाँचा, समावेशी र प्रतिनिधिमूलक शासन प्रणालीको अभाव, केन्द्रीकृत विकास प्रक्रिया, सूचनासञ्चार प्रविधिको विकासले ल्याएको नेटवर्क प्रणाली तथा विश्वव्यापीकरणले सिर्जना गरेको सामाजिक सांस्कृतिक समिश्रणलाई सांस्कृतिक बहुलवादका बाधाका रूपमा चित्रण गरिन्छ ।

आज विश्वभर सांस्कृतिक पहिचान र मौलिकताको खोजी भइरहेको छ । राष्ट्र, राष्ट्रियता र संस्कृति देशका अमूल्य निधि हुन् । सांस्कृतिक संरक्षण, विकास र विस्तारका लागि सांस्कृतिक बहुलवाद प्रवद्र्धनको आजको आवश्यकता हो । नेपालमा सबै जातजातिका मानिस दसैंतिहारलगायत नयाँ वर्ष, तीज, छठ, ल्होसार, माघी, बुद्धपूर्णिमा, यमरी, गौरा, ईद पर्व सांस्कृतिक समभावमा सामूहिक रूपमा मनाउने प्रचलन वृद्धि भएको छ ।

संसारका विभिन्न देशमा रहेका नेपाली परम्पराअनुरूपमा चाडबाड र संस्कार मनाउन हुरुक्क हुने गर्छन् । यसर्थ, सांस्कृतिक बहुलवाद मिश्रित समाजका लागि अझ महŒवपूर्ण एवं आवश्यक बनेको छ । सांस्कृतिक बहुलवाद समाजलाई समान, न्यायपूर्ण, शान्त, हराभरा र समृद्ध बनाउने एक अचुक सिद्धान्त र नीति हो ।

सांस्कृतिक बहुलवाद प्रवद्र्धनका लागि सिद्धान्त, नीति कानुन तथा व्यक्ति र समुदायको व्यवहार महŒवपूर्ण हुन्छ । देशमा रहेका सबै सांस्कृतिक सम्पदाको विकासका लागि राज्य तटस्थ, निष्पक्ष र क्रियाशिल हुनुपर्छ । संविधान तथा कानुनले कुनै एउटा संस्कृतिलाई समर्थन गर्ने र अरू संस्कृतिको संरक्षण र विकासमा उदासीन रहने गर्नुहुँदैन । राज्यका लागि सबै संस्कृति समान सम्पदा हुन् ।

सबै संस्कृतिको समान विकास गर्न तटस्थ संविधान र त्यसको पालना निष्पक्ष रूपमा हुनुपर्छ । सरकारले सबै संस्कृतिको विकास, सबै संस्कृतिबीचको सहसम्बन्ध र सहअस्तित्वका लागि समन्वयकारी भूमिका खेल्नुपर्छ । राज्यले समाजको स्थायित्व, एकता र शान्तिका लागि देशमा प्रचलित संस्कृतिको समानताको आधारमा खोजी, समान संरक्षण र विकास गर्दै इन्द्रेणीमा सबै रंग वा सलादमा सबै फलफूल वा तरकारीका टुक्रा देखिएझैं नेपाली समाजमा सबै संस्कृतिको स्पष्ट अस्तित्व देखिने रेन्वो प्रिन्सिपल सांस्कतिक नीति लिनुपर्छ ।

भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताका लागि सांस्कृतिक समूहबीच सद्भाव आवश्यक हुन्छ । संस्कृतिको समान संरक्षण हुने र अभ्यास गर्ने अवसरले सांस्कृतिक एकीकरणलाई मजबुत बनाउँछ । सबै संस्कृतिको समान संरक्षण र विकास प्रवद्र्धन गर्न समावेशी सरकार, समावेशी कर्मचारीतन्त्र र समावेशी नागरिक समाजसहितको समावेशी र प्रतिनिधिमूलक शासन प्रणालीको विकास गर्नुपर्छ । सांस्कृतिक नक्सांकन सांस्कृतिक खोजीको आधारशिला हो ।

सांस्कृतिक सद्भाव विकासका लागि विभिन्न जातजातिका व्यक्ति तथा समुदायलाई सबै संस्कृतिको महŒव तथा संस्कृति संरक्षणको आवश्यकताबारे सांस्कृतिक सचेतना बढाउनुपर्छ । संघीय तथा विकेन्द्रीत शासन प्रणालीको माध्यमबाट स्थानीय तहदेखि स्थानीय सरकारले स्थानीय संस्कृतिको संरक्षण र विकास गर्नुपर्छ भने प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई हरतरहले सहयोग गर्नुपर्छ । संघ, प्रदेश र स्थानीय सरकारले सरोकारवालाको सहभागिता र उनीहरूसँग सामाजिक संवाद गरी समानता र सहअस्तित्वका आधारमा बनाइएको सांस्कृतिक नीति कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्नुपर्छ ।

सबै क्षेत्रमा बसोवास गर्ने सबै जातजातिको सांस्कृतिक पहिचान खुल्ने गरी भाषा, साहित्य, कला, गीतसंगीत, लवाइखवाइ, नाचगान, पूजाआजा गरगहना, जन्म–मृत्यु, बिहेवारी र जात्रा पर्वको खोजबिन, संकलन तथा अनुसन्धान गरी सांस्कृतिक बैंक स्थापना गर्नाले संस्कृतिको दिगो जर्गेना हुन जान्छ ।

सांस्कृतिक बहुलताका लागि शासन प्रणाली समावेशी र सहभागितामूलक हुनुपर्छ । गणतन्त्रात्मक, संघीय, विकेन्दित र समावेशी शासन प्रणालीले सरकारलाई जनताको नगिच पु¥याउँछ । समान सामाजिक सांस्कारिक विकास र संरक्षणलाई सहज एवं सम्भव बनाउँछ । साथै समाजमा रहेका सांस्कृतिक कुसंस्कार परिवर्तनका लागि सरकार, समाज नागरिक अगुवाले सांस्कृतिक सुधारमा जोड दिनुपर्छ ।

सांस्कृतिक बहुलता आजको सामाजिक यथार्थता हो । राष्ट्रिय एकताको आधार हो । हिजोको जस्तो एक संस्कृति एक समाज, एक संस्कृति एक राज्य अब सम्भव छैन । मानिस कुनै क्षेत्र वा कुनै खास रहनसहनमा मात्र सीमित रहन सक्दैन । एक्लो समूह संस्कृतिले विकास गर्न पनि सक्दैन । विश्व खुलापन र सञ्चार नेटवर्कले आज मानिसमा अत्यधिक गतिशीलता र अन्तक्र्रिया बढेको छ । जसले समाज र संस्कृतिलाई अलग गर्नै नसकिने गरि मिसाइदिएको र अदृश्य बनाई दिएको छ ।

समाजमा विविध संस्कृत, भाषा, चालचलन, कला र साहित्यको उपस्थिति हुन पुगेको छ । विविधतायुक्त समाजको विकासका लागि पुरातनवादी एकल संस्कृतिमुखी सोच फलदायी हुन सक्दैन । यसर्थ आजको सैद्धान्तिक आवश्यकता सांस्कृतिक बहुलवाद हो ।

सरकारका तीन तहले नै सांस्कृतिक संरक्षणबिनाको विकास मौलिक र दिगो नहुने तथ्यलाई हृदयंगम गरी संस्कृतिक विविधतामैत्री विकास योजना, नीति रणनीति बनाउन र कार्यान्वयन गर्नुपर्छ ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]