वीरगञ्ज । भारतीय सीमा बजार रक्सौलबाट दैनिक झण्डै एक दर्जन मोटरसाइकलमा प्लाष्टिकका बोरामा कुखुराको मासु नेपाल भित्रने गर्दछ ।
भारततर्फबाट काटिएको कुखुराको मासु खुलेआम भित्रिरहेको कुरा इनरुवास्थित प्रहरीलाई थाहा नभएको पनि होइन । तर, प्रहरीले कहिले पनि पक्राउ गर्दैन ।
बरु उल्टो छोडेवापत मासु उपहार पाउँदै आएको छ । हरेक मोटरसाइकलमा ३० देखि ४० केजी तयारी मासु प्लाष्ट्रिकका बोरामा प्याक गरी नेपाल भित्रने गर्दछ । त्यतिमात्र होइन, भारतबाट दैनिक २ सयदेखि ३ सय वटा खसी–बोका इनरुवा नाकाबाट नेपाल भित्रने गर्दछ ।
भारतको रक्सौलमा खसीको मासु प्रतिकेजी ६ सय ५० रूपैयाँ नेपाली पर्दछ तर वीरगञ्जमा प्रतिकेजी ९ सय रूपैयाँमा बिक्री हुने गर्दछ । यो ठूलो रकमको फरकका कारण पनि भारतीय खसी–बोका नेपाल भित्रने गर्दछ । यसरी खसी–बोका नेपाल भित्र्याउन सहयोग गरेवापत र पक्राउ नगरेका कारण ड्युटीमा खटिएका जवान र हवल्दारलाई ५० रूपैयाँका दरले घुस दिने काम व्यवसायीले गर्दै आएका छन् ।
प्रहरीलाई घुस मिलाउने र भारतबाट खसी–बोका एवम् तयारी कुखुराको मासु नेपाल भित्र्याउन सहयोगीको भूमिका गयासुद्दीन देवानले गर्दै आएका छन् । उनी आफूलाई कुखुरा व्यवसायी संघको सचिव भन्ने गर्दछन् भने दिनभरि इनरुवा बोर्डरमा झोला लिएर बसेका हुन्छन् । उनले नै प्रहरीसँगको सेटिङ मिलाउने र कुखुरा एवम् खसी–बोकाका व्यवसायीहरूबाट रकम असुली मिलाउने काम गर्दैआएका छन् ।
जिप्रकाका एक अधिकृतका अनुसार यसरी मिलाइदिएवापत जिल्ला प्रहरी कार्यालयलाई १० केजीका दरले हप्तामा २ दिन खसीको मासु र एक दिन कुखुराको मासु, वडा प्रहरी कार्यालय विर्तालाई हप्तामा २ दिने ५ किलो खसीको मासु र एक दिन कुखुराको मासु, त्यसैगरी इनरुवा गाउँस्थित प्रहरी चौकीका असई देवराज खतिवडालाई हप्ताको २ दिन ३ केजी खसीको मासु र एक दिन कुखुराको मासु एवम् मन्दिर पोष्टका असईलाई हप्ताको २ दिन २ केजी खसीको मासु र एक दिन कुखुराको मासु दिने गरी मिलाउने कामसमेत गयासुद्दीनले गर्दै आएका छन् ।
यही मासु उपहारका कारण प्रहरीले सीमा क्षेत्रबाट तयारी कुखुराको मासुदेखि खसी–बोका ल्याउन छुट दिँदै आएको छ । जबकि कुखुराका चल्ला र तयारी मासु भारतबाट नेपाल ल्याउन कानुनीरूपमा बर्जित रहेको छ ।