फागुन २२, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले औपचारिक रुपमा काठमाडौंमा आफ्नो कार्यभार सम्हालेका छन् ।
राष्ट्रपतिको कार्यालय शितलनिवासमा बिहीवार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीलाई राजदूत क्वात्राले ओहोदाको प्रमाणपत्र बुझाएका थिए । उनी गत फागुन १८ गते काठमाडौं आइपुगेका थिए ।
उनी नेपालका लागि भारतका २५ औं राजदूत हुन् । गत डिसेम्बरमा भारतीय राजदूत मञ्जीव सिंह पुरीको कार्यकाल सकिएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका थिए ।
क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका थिए ।
उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा भारतबाट प्रतिनिधित्व गरेका थिए ।