जनकपुरधाम । जनकपुरधाम क्षेत्रको प्रमुख धार्मिक स्थल जानकी मन्दिरलाई ‘लाईटिङ’ मार्फत सौन्दर्यीकरण गरिने योजना अलपत्र परेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को करिब ५ करोड लगानीमा जानकी मन्दिर झकिझकाउ बनाउने सम्झौता भएको २० महिना बितिसक्दा समेत योजना सञ्चालन हुन सकेको छैन ।
२०७५ असार २५ मा विवाहपञ्चमीकै दिन विद्युतीय सौन्दर्यीकरण सम्पन्न गर्ने एनआरएनएले प्रतिबद्धता जनाएको थियो । तर, एनआरएनएका पदाधिकारीबीच योजना विषयमा आन्तरिक कुरा मिल्न नसक्दा अलपत्र परेको हो । प्रदेश २ मै पहिलोपटक सम्झौता गरेको महात्वाकांक्षी योजना कार्यान्वयनमा एनआरएनएले आनाकानी गरेको छ ।
सौन्दर्यीकरणका लागि सम्झौता भएपछि संघ सम्र्पकविहीन भएको जानकी मन्दिरका उत्ताराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । ‘एनआरएनए काम गर्ने पक्षमा छैन । उनीहरूको मनसाय मलाई पनि थाहा भएन तर सम्झौता गरेर गएदेखि कुनै पदाधिकारी सम्पर्कमै आएका छैनन,’ उनले भने ।
समझदारी पत्रमा जानकी मन्दिर छुट गुठीका तर्फबाट उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र गैरआवासीय नेपाली संघको तर्फबाट तत्कालिन अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका थिए ।
करिब ५ करोड लागतमा जानकी मन्दिर भित्र गरिने विद्युत्तीयकरणका सम्बन्धमा १२ सूत्रीय समझदारी पत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रममा संघका अध्यक्ष भट्टले जानकी मन्दिरमा ‘लाईटिङ’ मात्र नभई आगामी पुस्ताका लागि जनकपुरधामको कथा देखाउने खालको व्यवस्था गरिने बताएका थिए ।
गैरआवासीय संघले सुरु गरेको उज्यालो नेपाल अभियान अन्तर्गत जानकी मन्दिरको विद्युत्तीयकरणका लागि समेत सानो वार्डको एल ई डी बल्बको प्रयोग गरिने अध्यक्ष भट्टले हस्ताक्षर वेला जानकारी गराएका थिए ।
सौन्दर्यीकरण सम्झौता भएकै बेला पदाधिकारीबीच आन्तरिक खटपट भएकाले योजना सञ्चालन हुन नसकेको स्रोतको भनाइ छ ।
‘सम्झौता भएको बेला मञ्चमा बोल्ने मौका नपाएर केही पदाधिकारी रुष्ट भए । पछि एनआरएनएको चुनाव पनि नजिकिँदै गयो । सौन्दर्यीकरण गर्नेले हस्तान्तरण गर्ने मौका नपाएर जस अरूले लिने देखिएकाले पनि समस्या देखिएको हो,’ एनआरएनए स्रोतले भन्यो, ‘तत्काल सौन्दर्यीकरण हुने कुनै सम्भावना छैन । पैसा छैन भनेर कुरा टार्दै आएको छ । योजना कार्यान्वयन नहुन पनि सक्छ ।’
एनआरएनएले आफ्नो पैसाले योजना सञ्चालन गर्ने जनाएको थियो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा दिने भनिएको १ सय करोड रकमबाटै सौन्दर्यीकरणका लागि पैसा लिने दाउमा रहेकाले पनि योजना अलपत्र परेको नाम नखोल्ने सर्तमा एनआरएनएका एक पदाधिकारीले बताए ।
जानकी मन्दिर मुलुककै ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहर रहेकाले पर्यटकलाई अझ आकर्षित गर्न विद्युतीकरणबाट सुन्दर बनाउने भन्दै जानकी मन्दिर छुट गुठी र एनआरएनएबीच सम्झौता भएको थियो । सोलार र विद्युत दुवैबाट सञ्चालन हुने गरी जानकी मन्दिर झकिझकाउ पार्न परिसरमा समेत प्रकाश प्रज्जवलित गर्ने गरी एनआरएनएले विस्तृत योजना तयार पारेको थियो ।
‘पुरातत्व विभागबाट अनुमति लिने जिम्मेवारी महन्थको छ । रविन्द्र अधिकारी मन्त्री हुँदा हामीले यसबारे कुरा गरिसकेका थियौं । स्वीकृति प्रदान गर्ने भन्नुभएको थियो । हाम्रो डिजाइन पनि तयार छ । तर, स्वीकृति अझै आएको छैन त्यसैले ढिलो भयो,’ ती अधिकारीले भने ।