जलेश्वर– महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का वडाध्यक्ष जीतेन्द्र चौधरी भारतीय नागरिक रहेका भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।
रामगोपालपुर–८ बस्ने हरिश्चन्द्र ठाकुरले वडाध्यक्ष चौधरी भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरे। उजुरीकर्ता ठाकुरले उजुरीसँगै भारतीय निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावलीमा वडाध्यक्ष चौधरी तथा उनका बुबाको नाम उल्लेख भएको छायाकपी र उनले २०१९ मा भारतमा सम्पन्न भएको लोकसभा निर्वाचनमा भोट खसालेको प्रमाणसमेत पेश गरे।
स्थानीय तहको निर्वाचनमा वडा नं ५ मा स्वतन्त्रबाट निर्वा्चित वडाध्यक्ष चौधरीसँग दोहोरो नागरिकता रहेको भन्दै ठाकुरले सप्रमाण एक महिना पहिले नै उजुरी दर्ता गराए पनि त्यस उजुरीमाथि हालसम्म कुनै कारवाही नभएको उजुरीकर्ता ठाकुरले आरोप लगाए। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वडाध्यक्ष चौधरीविरुद्ध निवेदन आएको र सो निवेदनमाथि आवश्यक अनुसन्धान भइरहेको बताए।