राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको बचाउ र विरोधमा वादप्रतिवाद गरेका छन्। सभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएपछि सत्तारूढ दल नेकपा संसदीय दलका नेता दीनानाथ शर्माको पालो आएपछि उनले पाँचाैं अधिवेशनको शुभकामनाका साथ स्वागत मन्तव्य व्यक्त गरे।

उनले केही महत्वपूर्ण विधेयकलाई निकास दिनुपर्ने भन्दै विगतका चार अधिवेशन नयाँ अनुभवको अवसर प्राप्त भएको बताए। उनले राष्ट्रियसभा विगतमा सत्तापक्ष र प्रतिपक्षका निम्ति सफल भएको उल्लेख गरे। विज्ञता र बौद्धिकतायुक्त सांसदलाई निकट भविष्यमा नै बिदाइ गर्नुपर्ने सन्दर्भ सुनाउँदै प्रमुख सचेतक शर्माले राष्ट्रियसभाको गरिमालाई उच्च राख्नमा सबै सांसदको सक्रियता रहने विश्वास व्यक्त गरे।

सरकारले दुई वर्ष बिताउन लागेका बेला आर्थिक समृद्धितर्फको यात्रा क्रमशः अगाडि बढिरहेको, अन्तर्राष्ट्रिय रुपमा सार्वजनिक तथ्याङ्कले त्यस्तै देखाएको उनले बताए। राष्ट्रिय गौरवका केही आयोजना उत्साहप्रद रुपमा अगाडि बढेको तर सन्तोष गर्ने अवस्था नरहेको वास्तविकता चित्रित गर्दै सचेतक शर्माले १८ महिनाभित्रै पेट्रोलियम पदार्थ आपूर्ति गर्ने अत्याधुनिक पाइपलाइनको काम पूरा भएपछि ढुवानी खर्च बापतको रु १८ अर्ब राष्ट्रिय ढुकुटीमा बचत भएको जानकारी दिए।