काठमाडौं । वामदेव गौतमलाई सांसद बनाउने विषयलाई लिएर नेकपामा चर्किएको अन्तरद्वन्द्वले अन्ततः पार्टी र सरकारलाई नै खतरामा पारेको विश्लेषकहरुले बताएका छन् ।
राजनीतिक विश्लेषकद्वय श्रीकृष्ण अनिरुद्ध गौतम र श्याम श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टकरावले पार्टी नै फुट्ने खतरा बढेको टिप्पणी गरेका छन् ।
भावनात्मक रुपमा अझै पनि पूर्वएमाले र माओवादीबीच एकता नभएको उल्लेख गर्दै अन्तरद्वन्द्व चर्किए पार्टी फुट्ने र यसको असर सरकारमा समेत देखिने चेतावनी दिएका छन्।
राजनीतिक विश्लेषक गौतमले ओली अहिले पार्टीभित्र अल्पमतमा परेको बताउँदै केन्द्रीय समितिमा अल्पमतमा पर्दा पार्टीमा परेको मानिने र यो संसदीय दलमा यसको प्रभाव परे ओलीले राजीनामा दिनुपर्ने बाध्यात्मक स्थिति आउने बताए ।
विश्लेषक श्रेष्ठ पनि अहिलेको अस्थिरताले नेकपा नै नरहने अवस्था आउने चेतावनी दिए । अहिलेको स्थितिले अस्थिरता निम्ताउने र त्यसले नेकपा सकिने उनको भनाई छ । यसो भएमा सरकार ढल्ने र कम्युनिस्टहरुले सुनौलो अवसर गुमाउने उनले चेतावनी दिए ।
प्रचण्डले पाँच वर्ष कुर्न नसकेको र ओलीले पार्टीको निर्णय मान्दिन भन्दा नेकपा अस्थिरतामा फसेको उनको भनाई छ ।नेपालपाना।