जनकपुरधाम। अहिले करिब सबै सामुदायिक विद्यालयमा बाल कक्षा सञ्चालन भएको छ । एक वर्ष लगाएर उक्त कक्षामा अक्षर चिन्न थालेपछि मात्र एक कक्षामा भर्ना लिइन्छ । निजी विद्यालयहरुमा पहिले पनि एक कक्षा पुग्न तीनवटा कक्षा उत्तिर्ण गर्नुपर्ने प्रावधान थियो ।
पाठ्यक्रम हेर्दा एक कक्षामा पुगेपछि नेपाली, गणित र अंग्रेजी अक्षर सहजै चिन्न सक्ने हुनुपर्छ भन्ने देखिन्छ । अहिले जतिको फोकस नहुँदा पनि एक दशक अघिसम्म तीन कक्षाबाट अंग्रेजी विषयको छुट्टै किताब पढाइ हुन्थ्यो । पाँच कक्षादेखि गणितमा जटिल हिसाबहरु दिइन्थ्यो ।
अहिले पनि पाँच कक्षाका विद्यार्थीलाई नेपाली किताब पढ्न नआउने, गणितको अक्षर चिन्नसमेत नसक्ने अवस्था पत्याउन स्वभाविक गाह्रो हुन्छ । तर, तराई मधेशको सामुदायिक विद्यालयमा शिक्षाको अवस्था यस्तै छ ।
आसमान नेपाल नामक बालबालिका तथा शैक्षिक क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थाले हालै धनुषाका ५० विद्यालयमा एक सर्वेक्षण गर्दा यस्तो अवस्था देखिएको हो ।
आसमानले एकदेखि पाँच कक्षासम्मका विद्यार्थीमा जाँच लिँदा जम्मा २४ प्रतिशतले दुई अंकको भाग गर्न जानेका रहेछन् ।
पाँच कक्षाका विद्यार्थीलाई मात्रै जाँच लिँदा पनि ४६ प्रतिशतभन्दा बढीले भाग गर्न जानेको रहेनछ भन्ने देखायो।