फागुन १३, पेचिङ । चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण मंगलवार विहानसम्म २ हजार ६६६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण सोमवार मात्रै चीनमा ७१ जनाको मृत्यु भएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हुपेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट चीनभरी हालसम्म ७७ हजार ६०० जना संक्रमित भएका छन् । यो संख्या पनि सोमवारको तुलनामा ३३८ले वृद्धि हो ।
गत वर्षको डिसेम्वर महीनाको अन्त्यबाट हुपेई प्रान्तको वुहान सहरबाट कोरोना भाइरसको संक्रमण फैलिएको छ । हालसम्म चीनभरी यसको संक्रमण फैलिएको छ भने कम्तीमा २५ देशमा भाइरसको संक्रमण फैलिएको छ ।
यसैवीच कोरोना भाइरस विरुद्धको खोपको अनुसन्धानमा संलग्न चिकित्सकहरुले आगामी अप्रिल २७ सम्ममा खोपको परीक्षण सक्ने गरी कार्य गरिरहेको बताएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै चिनियाँ संचारमाध्यम सीजीटीएनले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
यसैगरी आयोगले चीनकै हङकङमा हालसम्म ७४ जनामा भाइरसको संक्रमण फेला परेकोमा २ जनाको मृत्यु भएको र १२ जना उपचारपछि निको भएको सीजीटीएनले उल्लेख गरेको छ । त्यसैगरी मकाउमा १० जना र ताइवानमा २८ जना संक्रमित मध्ये एक जनाको मृत्यु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ ।
यसैवीच दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९३ पुगेको छ । सोमवारमात्रै त्यहाँ ६० जना कोरोना भाइरस संक्रमति विरामीहरु फेला परेका थिए ।
भाइरसको संक्रमण हुनेहरु अधिकांश कोरियाको चौथो ठूलो सहर डाएगुको रहेको समाचार संस्था योन्ह्याप न्यूज एजेन्सीले बताएको छ । त्यहाँ मर्नेको संख्या हालसम्म ८ पुगेको छ । एजेन्सी