काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेका बेला राजधानी दिल्लीमा भएको प्रदर्शनमा एक प्रहरीसहित चार जनाको मृत्यु भएको छ ।
विवादास्पद नयाँ नागरिक कानूनको विरोधमा भएको प्रदर्शनका क्रममा तीनजना प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको हो ।
नयाँ कानुनको समर्थक र विरोधीहरुबीच भएको झडपमा कयौ घाइते भएको भारतीय सञ्चार माध्यमले जनाइएका छन् ।
ट्रम्प भारत भ्रमणमा रहेकै बेला भएको यो घटनालाई गम्भीरता पूर्वक हेरिएको छ । यो विषयलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ छापेका छन् ।
गत वर्ष पारित भएको नयाँ कानूनले मुस्लिम बाहुल्य मुलुकका गैरमुस्लिम आप्रवासीलाई माफी दिने कानुन पारित गरेको थियो ।
उत्तर पूर्वी दिल्लीको मुसलमान बाहुल्य रहेका स्थानमा गत वर्षबाट आन्दोलन सुरु भएको हो ।
नवनिर्वाचित दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नागरिकहरुबीचको हिंसाले मुलुकलाई जटिलतातर्फ धकेल्ने भन्दै तत्काल समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।