जनकपुरधाम, १२ फागुन । तीन वर्ष अघि नै निर्माण भईसक्नु पर्ने धनुषाको पूर्वी क्षेत्र जनकनन्दनी गाउँपालिका वडा नं.५ वनरझुला स्थित श्रीशंकर माध्यमिक विद्यालयको तीन कोेठे भवन निर्माणमा ब्यापक अनियमितता भएको पाईएको छ ।
भवन निर्माण कार्यका लागि विद्यालयलाई प्राप्त अनुदान काम नै नगरी अन्यत्र खर्च गरेको रहस्य बाहिर आएपछि भवन निर्माणको रकम दुरुप्योग भएको खुलेको हो । तत्कालिन जिल्ला शिक्षा कार्यालय धनुषाबाट वि.स. २०७३ सालमा तीन कोठे विद्यालय भवन(ट्रष्ट) निर्माणका लागि आएको बजेट तीन वर्ष भन्दा बढि वित्दा पनि काम हुन सकेको छैन् । रु.१९ लाख अनुदानमा तीन कोठे पक्की ट्रष्ट बनाउन पर्ने भएपनि काम नहुँदा विद्यार्थीहरु सास्ती भोग्न बाध्य भएका छन् ।
विद्यालय भवन निर्माणको भ्रष्टाचार लुकाउनको लागि यहि माघ ८ गतेदेखि निर्माण कार्य सुरु गरेपछि स्थानियहरुले विरोध गरेका छन् । विद्यालयका प्रधानाध्यापक योगेन्द्र यादव र वडा अध्यक्ष अशोक मण्डलले विद्यालयको
अनियमितताबाट जोगिनका लागि आफ्नो निजी जग्गा हड्पेर विद्यालय भवन निर्माण गर्न लागेको जनकनन्दी गाउँपालिका वडा नं.५ की रेणु गोईतले बताईन् ।
काम नै नभएको ट्रष्ट निर्माण वापत जनकपुरको पिडारी चौक स्थित साह ईन्जिनियरिंग वर्कशपलाई ७ लाख २० हजार दुई वर्ष अगाडी नै भुक्तानी दिईसकेको प्रधानाध्यापक यादवले प्रतिक्रिया दिए । विद्यालयका प्रधानाध्यापक यादव, तत्कालिन जिल्ला शिक्षा कार्यालयका प्रमुख, साईट ईन्जिनियर तथा लेखा शाखाको मिलोमतोमा निर्माण नै नगरी रकम हिनामिना गरेको स्थानियहरुको आरोप छ ।
विद्यायका प्रधानाध्यापक योगेन्द्र यादवका अनुसार हालसम्म उक्त ट्रष्ट निर्माण भईसक्नु पर्ने थियो । यद्यपी जग्गा विवादले भवन निर्माण हुन सकेको छैन् । यद्यपी वडा अध्यक्ष मण्डलकै नेतृत्वमा उक्त ट्रष्ट निर्माण कार्य सुरु गरिएको छ ।
तीन वर्ष पछि निर्माण सुरु गरिएको पक्की ट्रष्ट निर्माणमा समेत कमसल सामग्री प्रायोग भईरहेको निर्माणमा संलग्न मिस्त्री तथा मजदुरहरुले बताए । विद्यालयका प्रधानाध्यापक यादवको निर्देशन बोमिजिम नै आफुहरु दुई नम्बर ईट्टा प्रयोग गरेको सुनाए ।
काम नै नभएको निर्माणमा कमिसनका भरमा मिलेमतोमा किर्ते बिल भरपाई गरेर बजेट हिनामिता गरेको स्थानीयहरुको अरोप छ । यद्यपी आफुले नियम अनुसार नै निर्माण कार्य सुरु गरेको प्रधानाध्यापक यादवले स्वीकारे । विद्यालयकै जग्गामा भवन निर्माण भईरहेको छ । कसैको निजी जग्गा अतिक्रमण नभएको उनको दावी छ ।