उच्च शिक्षामा छात्राको संख्या ५५.५९ प्रतिशत
स्नातकदेखि एमफिलसम्म छात्राले नै बढी पदक जित्न सफल भएका छन् । एमफिल तहमा ०७५ सालको दीक्षान्त पदक सिर्जना पहारीले पाइन् । जनप्रशासन केन्द्रीय विभागमा अध्ययन गरेकी उनले ‘त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक’ प्राप्त गरेकी हुन् । यो पदक व्यवस्थापन संकायअन्तर्गत एमफिल तहमा अध्ययनरत सर्वोकृष्ट अंक प्राप्त गर्नेलाई दिने व्यवस्था छ । उनले ३.७५ सिजिपिए प्राप्त गरेकी छन् ।
स्नातकोत्तर तहमा ०७२ सालको दीक्षान्त पदक पनि छात्राले नै पाएकी छिन् । स्कुल अफ म्यानेजमेन्टको एमबिए तहमा सर्वोकृष्ट अंक प्राप्त गरी मीरा ज्ञवालीले इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक प्राप्त गरेकी छिन् । त्यस्तै, स्नातकोत्तर तहमा ०७३ सालको दीक्षान्त पदक एवं पुरस्कार पाउने छात्राहरूमा संगिना महर्जन, बिर्सना खड्का, गाथा रिजाल, अस्मिता खड्का, प्रनिता पौड्याल, विमला नेपाल र सोनिका लामिछाने छन् । संगिनाले दुई पदक र अन्यले एक÷एक पदक प्राप्त गरेका हुन् । स्नातक तहमा ०७४ सालको दीक्षान्त पदक तथा पुरस्कार १० जनाले प्राप्त गरेकोमा आठ छात्रा छन् । एलिशा खरेल, अञ्जना शर्माले दुई÷दुई पदक जितेका छन् । स्वाती आचार्य, अनिता मगर, कृपा श्रेष्ठ, अनिता भण्डारीले पनि पदक पाएका छन् ।
उच्च शिक्षामा छात्राको संख्या ५५.५९ प्रतिशत
उच्च शिक्षामा छात्राहरूको सहभागिता उत्साहजनक रूपमा वृद्धि भएको छ । भर्ना दरमा छात्राको संख्या बढेर ५५.५९ प्रतिशत पुगेको छ । जेन्डर पारिटी इन्डेक्सको हिसाबले १.११ हो । स्नातक तहमा छात्राहरूको संख्या सबैभन्दा बढी छ । विश्वविद्यालय अनुदान आयोगको पछिल्लो रिपोर्टअनुसार स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको कुल संख्या तीन लाख ६४ हजार सात सय २९ रहेकोमा छात्र एक लाख ६८ हजार आठ सय ५७ र छात्रा एक लाख ९५ हजार आठ सय ७२ छन् । स्नातकोत्तर तहमा कुल ५६ हजार तीन सय चार विद्यार्थी रहेकामा छात्र २९ हजार सात सय ७३ र छात्रा २६ हजार पाँच सय ३१ छन् ।