नयाँ दिल्ली (भारत) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग ठूलो व्यापार सम्झौताको लागि काम भइरहेको बताएका छन् । तर, यो सम्झौता आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचन अघि हुने वा नहुनेमा आफू विश्वस्त नरहेको बताए ।
सोमवार भारतको भ्रमणमा जान लागेका ट्रम्पले अहिले भारतको डेरी उत्पादन र कुखुराको बजारमा अमेरिकाको पहुँच बढाउने र अन्य उत्पादनमाथिको भन्सार महशुल घटाउने विषयमा छलफल भइरहेको उनले बताए । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइट्थाइजरको भारत भ्रमण रद्द भएपछि व्यापार वार्ताको विषयमा कुनै समाचार भने सार्वजनिक भएको छैन । मंगलवार ट्रम्पले अहिले नै भारतसँग व्यापार सम्झौता हुन सक्ने तर आफूले पछि ठूलो व्यापार सम्झौता गर्ने तयारी गरेको बताएका हुन् ।
अमेरिका भारतको लागि चीनपछि दोस्रो सबैभन्दा बढी व्यापार हुने मुलुक हो । सन् २०१८ मा अमेरिका र भारतको बीचमा १ खर्ब ४२ अर्ब डलर बराबरको व्यापार भएको थियो । गत वर्ष अमेरिकाले भारतसँग २३ अर्ब २० करोड डलरको व्यापार घाटा बेहोरेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र चीनले अमेरिकाबाट अनुचित लाभ लिइरहेको भन्दै आलोचना गर्दै आएका छन् । उनले यी मुलुकलाई विकासशील मुलुकको सूचीबाट पनि हटाउनुपर्ने बताएका छन् ।
ट्रम्प सोमवार २ दिने भ्रमणका लागि भारत आइपुग्नेछन् । एजेन्सी