गोरखाको नेपाने माध्यमिक विद्यालय, सिरानचोक–१ का प्रधानाध्यापक शिवकुमार साहसमेतले विभिन्न शीर्षकमा लाखौं रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्सका लागि लिएको रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो ।
अनुसन्धानमा साहले रेट्रो मेन्टेनेन्स बापतको अनुदान रकम रु. २ लाख ५० हजार र मर्मत शीर्षकमा रु. एक लाख समेत विद्यालयमा कुनै पनि कार्य नगरी हिनामिना गरेको पुष्टि भएको अख्तियारको आरोप छ ।
यसैगरी लाइब्रेरी व्यवस्थापनका लागि फिक्सिङ्ग र किताब खरीद शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा पनि अख्तियारले अनुसन्धान थालेको थियो ।
साहले झुठ्ठा बिल भरपाई तथा कागजातहरू तयार गरी अनुदान शीर्षकको रकम रु. ६ लाख ५० हजार हिनामिना गरेको पुष्टि भएको पनि आरोपपत्रमा उल्लेख गरेको छ ।
साहले तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त छात्रवृत्ति, पोशाक, झोलाका लागि प्राप्त रकम सम्बन्धित विद्यार्थीलाई वितरण नै नगरी हिनामिना गरेको अख्तियारले आरोप लगाएको छ ।
साहले शौचालय निर्माण र मर्मत शीर्षकमा प्राप्त रकम पनि मर्मत र निर्माण नै नगरी झुठ्ठा निर्णय, झुठ्ठा नापी किताब एवं झुठ्ठा बिल भरपाई तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय एकाइ गोरखाबाट फछ्र्योट समेत गराई सरकारी सम्पत्ति बदनियतसाथ हिनामिना गरेको अख्तियारको आरोप छ ।
यसैगरी साहले विद्यालयका लागि प्राप्त भएको विभिन्न शीर्षकको सरकारी अनुदानको रकम रु. पाँच लाख ९५ हजार चार सय बदनियतसाथ गलत कागजात तयार गरी खाए मासेको अख्तियारको आरोप छ ।
प्राविधिक सबइन्जिनियर विकास झा र शिवकुमार साहको मिलेमतोमा झुठ्ठा प्रतिवेदन तयार गरी नेपाल सरकारबाट अनुदान प्राप्त मर्मत शीर्षक र छात्रा शौचालय निर्माणको गरी रु. ३ लाख ५० हजार हिनामिनामा प्रत्यक्ष संलग्न रहेकाले कसुर बमोजिम रकम असुल गर्न विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।