जनकपुर, ६ फागुन। धनुषाका विभिन्न नाकाहरूबाट खुलेआम तस्करी सुरु भएको छ ।
चोरी तस्करी नियन्त्रण गर्ने र राजस्व संकलनमा टेवा पुर्याउने उद्देश्यले सरकारले भन्सार कार्यालयहरूमा सशस्त्र प्रहरीको गुल्म नै राखिदिएको छ । तर, भन्सारमा रहेका सशस्त्रका गुल्मका प्रमुखले नै घुमुवाहरू परिचालन गरी तस्करहरूबाट रकम असुली गरिरहेका कारण एकातर्फ राजस्व संकलन प्रभावित भइरहेको छ भने अर्कोतर्फ तस्करी खुलम्खुला चलिरहेको छ । यसको उदाहरण हो अहिले धनुषा तस्करहरूको कार्यथलो बन्नु ।
सशस्त्रका २ नम्बर प्रदेशका डिआइजी राजु अर्यालले आफ्नो मातहतका प्रहरीहरूको संरक्षणमा चोरी तस्करी भएको निगरानी गर्न र चोरी तस्करीका सामान पक्राउ गर्न डिएसपि डम्बर राणा, प्रहरी निरीक्षक बाबुराम थापाको कमाण्डमा छुट्टै टोली परिचालन गरेका छन् । यो टोलीले चोरी तस्करीका सामानहरू पनि पक्राउ गरेको छ । तर गोप्यरूपमा परिचालन हुनुपर्ने निरीक्षक थापाको टोली त्यसो नभई हल्ला गरेर परिचालन हुने गर्दछ ।
निरीक्षक थापा स्वयम् नै धेरै बिओपीका निरीक्षकहरू आफ्ना व्याजी भएका कारण ‘पार्टनर म आउँदैछु’ भनी भन्ने गरेको समेत सोही टोलीमा खटिएका प्रहरीहरू बताउँछन् । जब बाहिनीबाट डिआइजीको सिभिल टोली खबर गरेर परिचालित हुन्छ तब ती जिल्लाका सीमा क्षेत्रका बिओपीका निरीक्षकहरूले एक दिनका लागि तस्करी रोकिदिन्छन् ।
जब थापा हिँड्छन् त्यसपछि तस्करी सुरु हुन्छ । अहिले २ नम्बर प्रदेशमा यही भएको छ । जनकपुरमा त खुलेआम तस्करी भइरहेको छ ।
खजुरी नाकाबाटा चाइनिज उपनामल चिनिने जाउलुले मरीच, केराउ र छोहडाको ठूलो तस्करी गरिरहेका छन् । त्यसैगरी मैनाथपुर नाकाबाट राजीव र डाक्टर भन्नेले खुलेआम तस्करी गरिरहेका छन् ।
धनौजी नाकाबाट बर्तुला, नइम र सन्तुलाले ठूलो तस्करीको लाइन चलाइरहेका छन् भने जटही नाकाबाट सुल्तान भन्नेको तस्करी खुलेआम भइरहेको छ । यी तस्करहरूले धनौजी र जटहीका बिओपीका निरीक्षकहरूलाई मासिक मोटो रकम दिएर आफ्नो तस्करी संरक्षित गरिरहेका छन् । फुलगामा नाका मरिच र मदिरा तस्करी को मूल नाका नै बनेको छ ।
उनीहरूले सामानको केबल ४० प्रतिशतको मात्रै भन्सार काट्ने र बाँकी भन्सार र सशस्त्र प्रहरीको भन्सारका प्रमुख प्रहरी निरीक्षक प्रकाश भट्ट र उनका घुमुवा हबल्दार विमलेस ठाकुरलाई प्रयोग गरी तस्करी गराइरहेका छन् ।
निरीक्षक भट्टले हबल्दार ठाकृुरलाई घुमुवाका रूपमा परिचालन गरिरहेका छन् । यी घुमुवा ठाकुरले जनकपुर भन्सारबाट तस्करीको लाइन पाएका राजीव, सुरेश, अलाम र उमेशलाई ठूलो तस्करीको लाइन दिएका र उनीहरूबाट निरीक्षक भट्टको नाममा मासिक ३ देखि ४ लाख रूपैयाँ उठाउने गरेको समेत यहाँका सशस्त्र प्रहरीहरू नै बताउँछन् ।
त्यसैगरी फुलगामा नाकाबाट उमेशले मरीचको ठूलो तस्करीको लाइन चलाइरहेका छन् । यी तस्करहरूले सशस्त्रको धनुषास्थित ८ नम्बर गणका एसपी राजेश उप्रेतीका घुमुवा सिपाही दिपेश सिंहलाई पनि मासिकरूपमा मोटो रकम दिँदै आएका छन् ।
मकवानपुरस्थित १४ नम्बर गणमा दरबन्दी भएका घुमुवा दिपेश सिंहलाई भन्सार हेर्ने गरी एसपी राजेश उप्रेतीले परिचालन गरेका छन् । एसपीका घुमुवा दिपेश सिंहले अर्का घुमुवा विमलेस ठाकुर मार्फत् तस्करहरूसँग चिनजान र सम्पर्क गरी रकम उठाउने गरेको समेत थाहा भएको छ ।
बर्तुला थरका एक तस्करले सशस्त्रका यी घुमुवाहरूलाई मासिकरूपमा मोटो रकम नदिई कामै गर्न नसक्ने भएपछि आफूहरूले बाध्य भएर रकम दिई तस्करी गर्नु परेको जानकारी दिए ।
बाहिनीले धेरै विवादमा परेका कारण सिपाही रामजीवन यादवलाई जनकपुरबाट बारा लखेटेका थिए । बिदामा भएका बेला निजले चाँदी पक्राउ गरेपछि उनी विवादमा समेत तानिएका थिए ।
यसरी धनुषामा भन्सारका निरीक्षकदेखि गणका एसपीसम्मले घुमुवाहरू परिचालन गरी व्यापारीदेखि तस्करहरूसँग रकम असुली गर्ने क्रम तीव्र रूपमा भइरहेको छ भने घुमुवाहरूले आफ्ना कार्यालय प्रमुखका नाममा खुलेआम रकम असुली गरिरहेका छन् ।