फागुन ४, वीरगञ्ज । नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयको आयोजनामा सम्पत्ति शुद्घीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण तथा गो एएमएल सफ्टवेयर कार्यान्वयनको लागि एक दिने अनुशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
वीरगञ्जमा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सम्पत्ति शुद्घीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणको महत्वबारे प्रकाश पारेका थिए ।
उनले यो कार्यमा सरोकारका सबै पक्षबीच सहकार्य र समन्वयको आवश्यकता रहेकोमा जोड दिए ।
पर्सा जिल्लाका बैंक तथा वित्तीय संस्था र विभिन्न सूचक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक राजनबिक्रम थापाले गरेका थिए ।
उनले यस्तो अन्तरक्रियाबाट बैंक तथा वित्तीय संस्था र विभिन्न सूचक संस्थावीच प्रत्यक्ष संवादको अवसर प्राप्त भएको र यसबाट समस्या तथा आपसी द्विविधा समाधानमा सहयोग पुग्ने दाबी गरे ।
निर्देशक थापा र वित्तीय जानकारी इकाईका उपनिर्देशक कृष्णराम धुँजुले सम्पत्ति शुद्घीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण र गो एएमएल सफ्टवेयर कार्यान्वयनको विषयमा संयुक्त वार्ता प्रस्तुत गरेका थिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिलकुमार अग्रवालले आर्थिक नगरीमा यस्तो कार्यक्रम प्रभावकारी हुने बताए ।
नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका उपनिर्देशक केशवप्रसाद रिमाल र सहायक निर्देशक प्रतिभा थापाले यस्ता कार्यक्रमले लक्षित उद्देश्य सहज हुने बताए ।