संयुक्त अधिराज्य बेलायतका सेनाध्यक्ष आर्मी चिफ अफ जनरल स्टाफ सर मार्क कार्लटन–स्मिथ नेपालको औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।
मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष आर्मी चिफ अफ जनरल स्टाफ सर मार्क कार्लटन–स्मिथ शनिबार नेपालको औपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गरेका थिए ।
सातदिने भ्रमणको क्रममा बेलायती सेनाध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
साथै उनले ४ फागुनमा टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्ने छन् । जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम पनि रहेको छ ।
उनले पोखरास्थित पश्चिम पृतना हे.क्वा, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा केही महत्वपूर्ण पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने छन् ।
सातदिने औपचारिक भ्रमण पूरा गरी उनी मिति ९ फागुनमा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।