काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजपालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।
राजपा सरकारमा सहभागी भए आफूहरु स्वागत गर्न तयार रहेको दाबी गर्दै मन्त्री बाँस्काटोले भने, ‘उहाँहरुलाई स्वागत छ। उहाँहरुका लागि दुई–तीनवटा मन्त्रालय छोड्नुपर्ने कुरा न हो। त्यो त हामी गरिहाल्छौं।’
बिहीबार सञ्चार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सञ्चारकर्मीले विपक्षीसँग गठबन्धन गरेको बारेमा जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री बाँस्कोटाले राष्ट्र निर्माणका लागि राजपा सरकारमा सहभागी हुनुपर्ने बताउँदै आगामी दिनमा पनि सहकार्य हुने दाबी गरे।
‘राजपाले पहिले पनि सरकारलाई समर्थन गरेको थियो।बीचमा केही मिलेन। अहिले फेरि आउनुभएको छ। सहकार्यमा अगाडि बढ्छौं,’ उनले भने ।