About Contact
२५ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
गृहले किन रोक्यो मुस्लिमहरुको धार्मिक सम्मेलनमा विदेशी श्रद्धालुको सहभागिता ?

खोज केन्द्र शुक्रबार, फाल्गुण ०२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

मुस्लिम समुदायको तब्लिगी जमातका तर्फबाट सप्तरीमा आयोजना हुने तीनदिने धार्मिक सम्मेलनमा सरकारले हस्तक्षेप गरेको छ।

राष्ट्रिय मुस्लिम आयोग समेतको सहभागितामा ३ फागुनदेखि ५ गतेसम्म स‌चालन हुने  नेपाल इज्तिमा–२०२० मा नेपाल र भारत बाहेकका देशबाट समेत सहभागिता भएको भन्दै गृहले बिहीबार कार्यक्रम रद्द गर्न स्थानीय प्रशासनलाई पत्राचार गरेको हो।

यद्यपि शुक्रबार विदेशी धर्मगुरुहरुको सहभागिता नहुने आयोजकको वचनवद्धतापछि सम्मेलन सुचारु हुने भएको छ।

गृह प्रवक्ता सहसचिव केदारनाथ शर्माले आयोजकले राष्ट्रिय सम्मेलनका लागि अनुमति लिएपनि सम्मेलनमा विदेशीहरुको सहभागिता देखिएपछि कार्यक्रम रोक्न परिपत्र गरेको बताए। उनले राष्ट्रिय भनेर अनुमति लिएर अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नु आपत्तिजनक भएको बताए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले स्थानीय बोदे बर्साइन नगरपालिकास्थित जाँजरमा ६० बिघा क्षेत्रफलमा अस्थायी टहरा बनाएर सम्मेलनको सबै तयारी पूरा भएको बताए। उनले आयोजकहरुले गृहसँग लिएको अनुमति अनुसारका शर्त पालना नगरेकाले गृहको परिपत्रका आधारमा रोक्नुपरेको बताए।

‘सम्पूर्ण तयारी पूरा भएको थियो,’ प्रजिअ खनालले भने ‘तर अनुमति लिएभन्दा फरक देखिएपछि गृहकै परिपत्रका आधारमा रोक्न भनिएको हो।’ उनका अनुसार विभिन्न देशबाट सम्मेलनमा प्रवचन सुन्न आएका श्रद्धालुहरु फिर्ता गर्ने शर्तमा सम्मेलन आयोजना गर्न अनुमति दिन गृहले निर्देशन दिएको बताए।

मुस्लिम समुदायको तब्लिगी जमातले वर्षेनी इस्लाम धर्म सम्बन्धी प्रवचन सहितको इज्तिमा विश्वका विभिन्न देशमा आयोजना गर्दै आएको छ। इस्लामिक कानूनका विज्ञ अब्दुल कवि यो जमात समुदायमा सबैभन्दा नियमको पलनाकर्ता र शान्त समूह हो।

उनका अनुसार यो सम्मेलन इस्लाम धर्मग्रन्थ अनुसारका क्रियाकलाप गर्न गराउन प्रेरित गर्न आयोजना गरिन्छ। यसमा धर्मले तोकेभन्दा विपरीतका गतिविधिमा संलग्नहरुलाई सुधारको मार्गमा ल्याउन समेत प्रेरित गरिन्छ।

‘यो सम्मेलनमा विशुद्ध धार्मिक प्रवचन हुने गर्छ,’ उनले भने ‘यसअघि पनि बाँकेमा यस्तै सम्मेलन भइसकेको छ।’ उनका अनुसार बाँकेमा सम्पन्न सम्मेलनमा विदेशी पाहुनाहरुको बाक्लो उपस्थिति रहेपनि सरकारले रोकेको थिएन।

‘यसपटक किन रोक्न खोजियो थाहा भएन,’ कविले भने ‘त्यतिबेला सीमामा खटिएका भारतीय सुरक्षा अधिकारीहरुले आगन्तुकहरुलाई केही बढी नै चेकजाँच गरेका थिए।’ उनका अनुसार यो सम्मेलन कुनै कोषबाट वा सहयोगबाट नभई स्वस्फुर्त रुपमा जमातका सदस्यहरुको सहयोगमा विश्वभर संचालन हुन्छ।

सप्तरी इज्तिमा सम्मेलनका आयोजकमध्ये एक मोहम्मद गफुर सरकारको पछिल्लो कदमले आफूहरु अचम्ममा परेको बताए। उनले यो सम्मेलनमा कुनै विदेशी सहयोग नरहेको र ब्यक्तिगत सहयोगमा संचालन हुने बताए। उनका अनुसार सम्मेलनमा विदेशबाट श्रदालुहरु स्वस्फूर्तरुपमा सहभागी भएका हुन्। उनीहरुलाई कुनै निम्ता पठाइएको छैन।

‘धार्मिक सम्मेलनमा सरकारी हस्तक्षेपमा दु:ख लागेको छ,’ गफुरले भने ‘यसमा कुनै घुसपैठ हुने आशंका रहे त्यसको ग्यारेन्टी हामी लिन तयार छौं।’

भारतको दिल्लीस्थित निजामुद्दिन दरगा मुख्य कार्यालय रहेको यो जमातलाई विश्वका कुनै पनि देशमा आवतजावतमा कुनै रोकटोक छैन। मुस्लिम समुदायमा रहेको अन्य जमात भन्दा फरक यसले आयोजना गर्ने सम्मेलनमा सबै धर्म र जातिलाई प्रवचन सुन्न खुला गरिएको कविले  बताए।

गृहका उच्च अधिकारीहरुका अनुसार भारतीय सीमासँग जोडिएको सप्तरीमा आयोजना हुने यसप्रकारको सम्मेलनले भारतमा नागरिकताकाे विषयलाई लिएर भइरहेको आन्दोलनमा प्रभाव पर्ने भन्दै भारतीय पक्ष सन्तुष्ट छैन। अझ कार्यक्रममा पाकिस्तान र बंगलादेशका मुस्लिमहरुको उल्लेख्य सहभागिता हुने भएपछि उसले सीमावर्ती क्षेत्रमा सुरक्षा कडा बनाएको छ।

सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, साउदी अरेबिया, कतार, मलेसिया , इराक, इरान, अफगानिस्तान र अमेरिकाबाट श्रद्धालुहरु सहभागिताका लागि आउनेक्रम जारी छ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]