टिपरले किचेर हत्या गरिएका पर्यावरण अभियन्ता दिलिप महतोलाई न्याय माग्दै धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ ।
चुरे तथा वनजंगल संरक्षण अभियानको पूर्व निर्धारित कार्यक्रम अनुसार बुधवार धनुषाको ढल्केवरमा दिलिप महतोलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।
सामाजिक अभियन्ता सरोज रायको विशेष उपस्थितीमा भएको प्रदर्शनमा सहभागीहरुले दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर, उच्च स्तरिय छानविन समिति गठन गर, दोषीलाई कडा कारवाही गर लगायतका नाराहरु लगाएका थिए ।
ढल्केवर चोकको विभिन्न भागको परिक्रमा गरेर ढल्केवरस्थित रहेको कृषी हाटबजार अगाडी पूगेर करिब आधा घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । राजमार्ग अवरुद्ध गरेर कोणसभाको आयोजना गरिएको थियो ।
कोणसभामा सामाजिक अभियन्ता सरोज राय, पिछ्डावर्ग समाज(ओबिसी)का केन्द्रिय अध्यक्ष राम कुमार महतो, तराई मधेस राष्ट्रिय परिषदकी सदस्य गुञ्जा राय, तराई मधेश चुरे संरक्षण अभियानका अध्यक्ष सुनिल यादवलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
गत पुस २५ गते धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित घरनजिकैको औरही खोलामा अवैध उत्खनन् रोक्न गएको बेला टिपरले किचेर दिलिपको हत्या भएको थियो । यस घटनाको देशैभर व्यापक रुपमा विरोध भईरहेको छ । देशको विभिन्न भागमा दिलीपलाई पर्यावरण शहिद घोषणा गर्न माग उठिरहेको छ ।