राजपा र समाजवादीबीच एकीकरणको प्रक्रिया पनि अगाडि बढेका बेला भएको नेकपा–राजपा गठबन्धनले समाजवादीलाई चिन्ता थपेको छ। सहमतिबाट सबैभन्दा बढी चिन्तित समाजवादीका संघीय परिषद् अध्यक्ष डा. डा.बाबुराम भट्टराई देखिन्छन्। डा. भट्टराईको चिन्ता र छटपटी उनले गरेका पछिल्ला ट्विटमा देखिन्छ।
समाजवादी र राजपाबीच एकीकरणका लागि सबैभन्दा अगाडि देखिएका भट्टराईले नेकपा–राजपा गठबन्धनका विषयमा फरक–फरक केही घण्टाकै बीचमा फरक धारणा व्यक्त गरेका छन्।
बालुवाटारमा नेकपा र राजपाबीच गठबन्धन भइसकेपछि बुधबार राति ट्विट गर्दै भट्टराईले आशंकाको दृष्टिकोणले हेर्न नमिल्ने जनाएका थिए।
‘राष्ट्रियसभाको निर्वाचनमा तालमेल भनेको विशुद्ध कार्यनीतिक र तत्कालिक मुद्दा हो१ यसलाई दीर्घकालीन रणनीतिसँग जोडेर धेरै आशंका गर्नु उपयुक्त हुन्न ! संविधान संशोधन जस्ता रणनीतिक मुद्दा मिल्ने शक्तिहरू एकताबद्ध हुनैपर्छ ! नत्र दुइटा बिरालाको झगडामा बाँदरले सबै रोटी खाइदिएजस्तो हुनसक्छ !’ उनले लेखेका छन्।
तर, घटनाक्रम अगाडि बढ्दै जाँदा आज बिहान उनले आक्रोशयुक्त ट्विट गरे। नेकपा र राजपाबीचको गठबन्धन फुटाऊ र राज गर भन्ने नीतिअन्तर्गत भएको उनले टिप्पणी गरेका छन्। ‘जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ/दृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ, तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न ! फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पीस छन् !अहिलेका नया मालिकहरू झन् धूर्त छन् ! खाँचो छ नयाँ स्पार्टाकसको ! सबैलाई चेतना भया !’ उनले लेखेका छन्।
उता, समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले पनि फुटाऊ र राज गर नीतिअन्तर्गत नै दुई पार्टीबीच सहमति भएको बताएका छन्। ‘नेकपाले सिंगै देशलाई एकल जातीय निरन्तरता दिन, आफ्नो शासनमा ल्याउने सपना देख्दै छाडिएको अश्वमेघी घोडालाई दुई नम्बर प्रदेशले समातिदिँदा दुई नम्बरका प्रभावशाली राजनीतिक शक्तिहरुलाई एकअर्काको विरुद्धमा उपयोग त उसले गरिहाल्छ नि। समावेशिता र संघीयताको राष्ट्रव्यापी लडाइँको केन्द्रबिन्दु अहिले दुई नम्बर प्रदेश हो। दुई नम्बर प्रदेशको प्रयोग सफल हुन सकेन भने त्यसको असर एतिहासिक र अपरिवर्तनिय हुनेछ,’ सिंहले भनेका छन्। केही समयको व्यक्तिगत लाभ नहेरी सार्वजनिक हित हेर्न उनले आग्रह गरेका छन्।