माघ २२, लन्डन (बेलायत) । विश्व बजारमा बुधवार कच्चा तेलको भाउ तीन प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । वैज्ञानिकहरूले चीनबाट फैलिएको कोरोना भाइरसको औषधि पत्ता लगाएको समाचारसँगै कच्चा तेलको भाउ बढेको हो ।
बुधवार अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ३ दशमलव २ अर्थात् १ डलर ७६ सेन्टसम्म बढेर ५५ डलर ७२ सेन्टमा पुगेको थियो ।
त्यस्तै यूएस वेस्ट टेक्सास इन्टरमेडियट (डब्ल्यूटीआई)को भाउ पनि प्रतिब्यारेल २ दशमलव ६ प्रतिशत अर्थात् १ डलर ३४ सेन्ट बढेको थियो । यससँगै डब्ल्यूटीआईको भाउ प्रतिब्यारेल ५० डलर ९३ सेन्टमा पुगेको थियो ।
मंगलवार चिनियाँ स्थानीय छाङचियाङ समाचारपत्रिकाले चेन्चियाङ यूनिभर्सिटीको शोधकर्ता टोलीले कोरोना भाइरसको औषधि पत्ता लगाएको बताएको थियो ।
त्यसका बेलायतको स्काई न्युजले पनि इम्पेरिकल कलेज लन्डनका शोधकर्ता पनि कोरोना भाइरसको औषधि पत्ता लगाउने बाटोको निकै महत्वपूर्ण चरणमा पुगेको उल्लेख गरेको थियो ।
कोरोना भाइरसको कारण चीनका धेरै स्थानमा भ्रमणमा प्रतिबन्ध लगाइएको छ । स्थानीय तेल प्रशोधकले आफ्नो उत्पादनमा उल्लेख्य मात्रामा कटौती गरेका छन् ।
विश्लेषकले भाइरसको कारण विश्वको तेल माग यस वर्ष शून्य दशमलव ५ प्रतिशत घट्नसक्ने बताएका छन् । एजेन्सी